तनहुँको आँबुखैरेनीमा आयोजित छलफलका क्रममा करेन्ट लागेर हात गुमाएका एक व्यक्तिले राहत नपाएको गुनासो गरेपछि गृहमन्त्री सुधन गुरुङले तत्कालै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई फोन गरेर राहत प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
गत चैतमा करेन्ट लागेर हात काट्नुपरेका ती पीडितले हालसम्म कुनै राहत नपाएको विषय गृहमन्त्रीसमक्ष प्रस्तुत भएपछि उनले चासो देखाएका थिए।
उनले तत्कालै सम्बन्धित प्रशासनिक अधिकारीलाई सम्पर्क गरी राहत उपलब्ध गराउने प्रक्रिया द्रुत गतिमा अघि बढाउन स्पष्ट निर्देशन दिए।
यसअघि गृहमन्त्री गुरुङले आँबुखैरेनीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा स्थानीयसँग समसामयिक विषयमा अन्तरक्रिया गरेका थिए।
छलफलमा स्थानीय समस्या, शान्तिसुरक्षा, बढ्दो अनलाइन ठगी तथा विपद् व्यवस्थापनबारे कुराकानी भएको रास्वपा नेता वासु पन्तले जानकारी दिए।
छलफलमा विशेषगरी भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकका परिवारले सरकारका तर्फबाट भइरहेका काम तथा पीडित परिवारका लागि चालिएका कदमबारे जिज्ञासा राखेका थिए।
विपद्मा परेका परिवारको वर्तमान अवस्था र उनीहरूका समस्याबारे स्थानीयले मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए।
त्यस्तै, जिल्लाको समग्र शान्तिसुरक्षा र पछिल्लो समय मौलाउँदै गएको अनलाइन ठगीका विषयमा पनि गृहमन्त्रीलाई जानकारी गराइएको थियो।
अनलाइन माध्यमबाट हुने ठगीले सर्वसाधारणलाई पारेको असर र यस्ता गैरकानुनी गतिविधि नियन्त्रण गर्न तत्काल कदम चाल्नुपर्नेबारे छलफल भएको नेता पन्तले बताए।

प्रतिक्रिया