हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमाली भू-भागमा हिमपात र वर्षा सुरु भएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले दार्चुला, बझाङ र हुम्लाका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।

रातिको समयमा कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराई, उपत्यका तथा खोँचहरूमा भने बिहानपख हुस्सु र कुहिरो लाग्नेछ।

सोमबार पनि हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। त्यस्तै लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मङ्गलबार कोसी प्रदेशको हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ। बुधबार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ।

आगामी बिहीबारसम्म नै बिहानीपख तराई भू-भाग, उपत्यका तथा खोंचहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। महाशाखाले मौसममा आएको बदलीसँगै चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।