जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो दोस्रो जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको रोमाञ्चक खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै जनकपुरले महत्त्वपूर्ण २ अंक जोडेको हो।
जनकपुरले प्रस्तुत गरेको १४८ रनको विजयी लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रनमा समेटियो। जारी प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको पोखरा अझै पहिलो जितको खोजीमै छ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले २४ बल खेल्दै ५ चौकाको मद्दतमा सर्वाधिक ३५ रन बनाए।
त्यस्तै तल्लो क्रममा विपिन आचार्यले २०, विपिन खत्रीले अविजित १७ र किरण ठगुन्नाले १५ रन जोडे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। टोलीका प्रमुख खेलाडी शाकिब अल हसन ९ रनमै पभेलियन फर्किएका थिए।
पोखराको इनिङ्स रोक्न जनकपुरका अनुभवी अलराउन्डर मोइन अलीले घातक बलिङ गरे। उनले ४ ओभरमा १ मेडनसहित मात्र १३ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए। कप्तान हरमित सिंह र सैफ हसनले २-२ विकेट हात पारे भने ललित राजवंशी र जेम्स निसमले १-१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रनको योगफल तयार पारेको थियो। जनकपुरका लागि प्रारम्भिक ब्याटर त्रित राज दासले ५५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिएका थिए।
त्यस्तै अन्तिम ओभरहरूमा अभिषेक तिवारीले १० बलमा अविजित २४ रन तथा ओपनर मोइन अलीले २१ रन बनाएका थिए। पोखराका लागि शाकिब अल हसनले ४ ओभरमा १५ रन दिएर ३ विकेट तथा चमिका करुणारत्नेले २ विकेट लिएका थिए।
यो जितसँगै ३ खेलबाट २ जित हात पारेको जनकपुरले अङ्क तालिकामा आफ्नो स्थिति बलियो बनाएको छ भने २ खेल खेलेको पोखरा अङ्कविहीन छ।

प्रतिक्रिया