तनहुँको आँबुखैरेनीस्थित पृथ्वीराजमार्गमा हाइस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्।

मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ८४१९ नम्बरको हाइस आइतबार साँझ करिब सवा ७ बजे आँबुखैरेनी गाउँपालिका-२ बरादीमा दुर्घटनामा परेको हो। सडक डाइभर्सनका लागि राखिएको सिमेन्टको डिभाइडरमा हाइस ठोक्किन पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै घाइते सबैलाई उद्धार गरी उपचारका लागि आँबुखैरेनी अस्पताल तनहुँ पठाइएको छ। दुर्घटनाग्रस्त सवारी साधन घटनास्थलमै रहे पनि राजमार्गमा सवारी आवागमन भने अवरुद्ध नभएको प्रहरीको भनाइ छ।

घाइते हुनेहरूमा चालक स्याङ्जा पुतलीबजार नगरपालिका-१ बस्ने ३७ वर्षीय भद्रबहादुर शाह, कास्की पोखरा महानगरपालिका-७ का ६३ वर्षीया राधादेवी बराल र ७३ वर्षीय लीलाधर बराल रहेका छन्। उनीहरूको अवस्था मध्यम छ।

त्यस्तै पोखरा महानगरपालिका-१३ का ७३ वर्षीया चुनकुमारी गुरुङ र ४९ वर्षीया राधा गुरुङ, पर्सा घर भई हाल तनहुँ बन्दीपुर-१ बस्ने ३५ वर्षीया सपना चौधरी तथा महोत्तरी बलवा नगरपालिका-७ का ३६ वर्षीय रुपेश मिश्र पनि मध्यम घाइते भएका छन्।

यसैगरी पोखरा-३२ का ३७ वर्षीय राजकुमार श्रेष्ठ, बाग्लुङ बडिगाड गाउँपालिका-७ की २५ वर्षीया विपना वि.क., तनहुँ व्यास-१ का २३ वर्षीय विकास ठकुरी र बन्दीपुर-२ की २८ वर्षीया सिर्जना अछामी सामान्य घाइते भएको प्रहरीले जनाएको छ।