राजस्थानको किशनगढस्थित एउटा विशाल सेतो मैदान हेर्दा जोकोहीलाई हिउँले ढाकिएको सुन्दर पर्यटकीय क्षेत्रजस्तो लाग्न सक्छ। सेता पहाड, नीलो पानी जमेको कृत्रिम ताल र आकर्षक दृश्यले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउँछ।

तर वास्तविकता भने निकै फरक छ। पर्यटकले सुन्दर दृश्य देख्ने यो ठाउँ वास्तवमा मार्बल प्रशोधन गर्दा निस्कने फोहोर थुपारिएको डम्पिङ साइट हो।

स्थानीय रूपमा ‘स्नो यार्ड’ अर्थात् हिउँ यार्ड भनेर चिनिने यो क्षेत्र भारतको राजस्थानस्थित अजमेर जिल्लामा पर्छ। करिब ३०० एकड क्षेत्रमा फैलिएको यस स्थानमा दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन्।

नवविवाहित जोडीदेखि सामाजिक सञ्जालका सामग्री निर्माता र चलचित्रकर्मीसम्मका लागि यो आकर्षक गन्तव्य बनेको छ। कतिपयले यहाँ विवाहपूर्व फोटोसुट गर्छन् भने कतिपय टिकटक र रिल्स बनाउन पुग्छन्। चलचित्र तथा म्युजिक भिडियोको छायांकनसमेत यहाँ हुने गरेको छ।

उत्तर प्रदेशका व्यापारी सलीम शहजादा पनि परिवारसहित यो ठाउँ घुम्न पुगेका थिए। उनका परिवारका सदस्यले पहिलोपटक देख्दा कश्मीरको दृश्यजस्तै लागेको बताएका थिए।

तर यो आकर्षक देखिने ठाउँको वास्तविकताबारे आफूलाई जानकारी नभएको शहजादा बताउँछन्।

‘यहाँ मार्बल काट्दा निस्कने फोहोर फालिन्छ भन्ने मात्र थाहा थियो। यसको स्वास्थ्य र वातावरणमा पर्ने असरबारे मलाई खासै जानकारी थिएन,’ उनले भने।

पर्यटकका लागि आकर्षण, स्थानीयका लागि सास्ती

किशनगढ भारतको प्रमुख मार्बल तथा ग्रेनाइट प्रशोधन केन्द्रमध्ये एक हो। यहाँ करिब १ हजार २०० प्रशोधन उद्योग सञ्चालनमा छन्।

भारतीय ग्रेनाइट तथा ढुङ्गा उद्योग महासंघका अनुसार यस क्षेत्रको दैनिक कारोबार १६ करोड भारतीय रुपैयाँभन्दा बढी छ। उद्योगले करिब २५ हजार मानिसलाई रोजगारीसमेत दिएको छ। तर यही उद्योगबाट निस्कने फोहोर स्थानीय बासिन्दाका लागि ठूलो समस्या बन्दै गएको छ।

प्रत्येक दिन करिब १ हजार ट्याङ्करमार्फत ५ हजार ५०० टन मार्बल स्लरी डम्पिङ साइटमा ल्याएर फालिने गरेको छ। यसबाट निस्कने मसिनो धुलो आसपासका गाउँसम्म फैलिने गरेको स्थानीयको गुनासो छ।

डम्पिङ साइटबाट करिब ६ किलोमिटर टाढा रहेको भोगियावास गाउँका बासिन्दा यसको प्रत्यक्ष असर भोगिरहेका छन्।

५३ वर्षीय बाघराम गुर्जरका अनुसार गाउँमा धुलोको समस्या बढ्दै गएपछि खेतीपाती गर्नसमेत कठिन भएको छ। खेतमा धुलो जम्दा माटो कडा हुने र बाली उत्पादन घट्ने समस्या देखिएको उनले बताए।

उनकी श्रीमती लामो समयदेखि खोकीबाट पीडित छिन्। ‘माटोमा धुलो जम्मा भएपछि सबै कुरा बिग्रन्छ। खेती गर्न पनि गाह्रो हुन्छ,’ गुर्जरले भने।

उनका अनुसार डम्पिङ साइटको असर कम्तीमा छवटा गाउँका बासिन्दाले भोगिरहेका छन्। बालबालिकादेखि वृद्धवृद्धासम्म छातीको संक्रमण, दाँतसम्बन्धी समस्या र छालाको एलर्जीबाट पीडित भइरहेको उनको दाबी छ।

गुर्जर र उनकी श्रीमतीले समेत छातीको संक्रमण तथा छालाको समस्याका लागि नियमित औषधि सेवन गर्नुपरेको बताएका छन्।

अजमेरस्थित गंगा नारायण अस्पतालकी जनरल फिजिसियन अदिति गोयलका अनुसार किशनगढ क्षेत्रमा प्रदूषणका कारण श्वासप्रश्वास तथा छालासम्बन्धी समस्या बढिरहेको छ।

विशेषगरी मार्बल प्रशोधन उद्योगमा काम गर्ने श्रमिक लामो समयसम्म धुलोको सम्पर्कमा रहने भएकाले उनीहरूमा दीर्घकालीन स्वास्थ्य समस्या देखिने जोखिम बढी रहेको उनले बताइन्।

‘पछिल्ला केही वर्षमा यस क्षेत्रमा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको छ। यसको एउटा प्रमुख कारण डम्पिङ साइटबाट फैलिने धुलो हो,’ गोयलले भनिन्।

खानेपानी र खेतीयोग्य जमिनमा समेत असर

भोगियावासका ६५ वर्षीय उगम सिंहले डम्पिङ साइट सुरु हुनुअघिको अवस्था र अहिलेको परिस्थितिमा ठूलो परिवर्तन आएको बताए।

उनका अनुसार निरन्तर फोहोर थुपारिँदा गाउँको वातावरण मात्र बिग्रिएको छैन, भूमिगत पानीको गुणस्तरमा समेत समस्या देखिएको छ।

‘अहिले भूमिगत पानीसमेत पिउन योग्य छैन। पानीमा फ्लोराइडको मात्रा धेरै भएकाले स्वाद नुनिलो भएको छ,’उनले भने।

सिंहले पानीकै कारण आफ्नो दाँत बिग्रिएको र हड्डी कमजोर भएको दाबी गरे।

स्थानीय बासिन्दाले प्रदूषण नियन्त्रणका लागि राजस्थान राज्य प्रदूषण नियन्त्रण बोर्ड (आरएसपीसीबी) लगायत सम्बन्धित निकायमा पटकपटक उजुरी गरे पनि सुनुवाइ नभएको गुनासो गरेका छन्।

‘जुनसुकै सरकार आए पनि गरिबको कुरा कसैले सुन्दैन। उद्योग र धनीलाई फाइदा पुर्‍याउन हामीजस्ता सर्वसाधारणको जीवन जोखिममा पारिएको छ,’ सिंहले भने।

उनका अनुसार स्थानीयको मुख्य माग डम्पिङ साइट बन्द गरी सुरक्षित स्थानमा सार्नु हो।

भोगियावासबाट करिब १५ मिनेटको दूरीमा रहेको टोकरा गाउँका बासिन्दा रामलाल पनि डम्पिङ साइट अन्यत्र सार्नुपर्ने माग गर्छन्।

उनका अनुसार वर्षौंदेखि फैलिएको प्रदूषणका कारण स्थानीयको स्वास्थ्य बिग्रँदै गएको छ। तर उपचारका लागि आवश्यक खर्च जुटाउन नसक्ने परिवार धेरै छन्।

‘किशनगढ फोहोरले भरिएको छ। अब यो डम्पिङ साइटलाई मानिसहरूलाई असर नपर्ने ठाउँमा सार्ने समय आएको छ,’ उनले भने।

रामलालले डम्पिङ साइट आसपासका गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयको स्वास्थ्य परीक्षण गर्न पनि सरकारसँग माग गरेका छन्।

उनका अनुसार लामो समयदेखि धुलोको सम्पर्कमा रहेका मानिसमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिए पनि धेरैले आर्थिक अभावका कारण उपचार गराउन सकेका छैनन्।

किशनगढको ‘स्नो यार्ड’ अहिले सामाजिक सञ्जालमा सुन्दर पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै गएको छ। तर यसको सेतो सौन्दर्यभित्र लुकेको प्रदूषण र स्थानीयको पीडा भने ओझेलमा परेको छ।

पर्यटकका लागि कश्मीरको झल्को दिने यो ठाउँ आसपासका बासिन्दाका लागि भने स्वच्छ हावा, सुरक्षित पानी र स्वस्थ जीवनको संघर्ष बनेको छ।

(अलजजिराको सहयोगमा)