उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। दुई पार्टीबीच आगामी कात्तिक १७ गते औपचारिक एकता घोषणा गर्ने तयारी गरिएको छ।
कोटेश्वरस्थित पेरिसडाँडामा रहेको नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे विशेष कार्यक्रम आयोजना गरी एकताको घोषणा गरिने जनाइएको छ।
यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएकी उमा भुजेलले राष्ट्रिय भेला आयोजना गर्दै छुट्टै राजनीतिक संगठन गठन गरेकी थिइन्। उक्त भेलाले भुजेलको नेतृत्वमा १०५ सदस्यीय केन्द्रीय समिति समेत चयन गरेको थियो।
कम्युनिस्ट आन्दोलनमा एकता, सहकार्य र राजनीतिक ध्रुवीकरणलाई थप बलियो बनाउने उद्देश्यसहित दुई पक्षबीच एकीकरण हुन लागेको बताइएको छ।
यस एकतापछि दुवै संगठनका नेता तथा कार्यकर्ताहरू एउटै राजनीतिक संरचनामा आबद्ध हुनेछन्।

प्रतिक्रिया