आइतबार ऐश्वर्या राय बच्चन आफ्नो ५३ औँ जन्मदिन मनाउँदै छिन्। ऐश्वर्याको करिअर मोडलिङबाट सुरु भएर मिस वर्ल्ड, बलिउड, अन्तर्राष्ट्रिय सिनेमा र कान्स फिल्म फेस्टिभलजस्ता विश्वव्यापी मञ्चसम्म पुगेको छ।
सन् १९९४ मा मिस वर्ल्डको उपाधि जित्नुअघि नै उनलाई फिल्ममा अभिनय गर्ने प्रस्ताव आएको थियो। तर उनले त्यतिबेला पढाइ र मिस इन्डिया प्रतियोगितालाई प्राथमिकता दिइन्।
उनले बबी देओलसँग ‘और प्यार हो गया’ चलचित्रबाट बलिउड डेब्यु गरेकी हुन्। साथै सलमान खानसँग फिल्म ‘हम दिल दे चुके सनम’, ‘ताल’ र ‘देवदास’ जस्ता फिल्मले उनलाई बलिउडकी शीर्ष अभिनेत्रीमध्ये स्थापित गराए।
त्यस्तै, ‘ब्राइड एन्ड प्रेजुडिस’, ‘द मिस्ट्रेस अफ स्पाइसेस’, ‘प्रोभोकेड’, ‘द लास्ट लिजन’ र ‘द पिंक प्यान्थर २’ जस्ता अंग्रेजी फिल्ममार्फत उनले अन्तर्राष्ट्रिय पहिचान समेत बनाउन सफल भएकी छन्।
एक समय कान्सदेखि हलिउडसम्म चर्चामा रहेकी ऐश्वर्याको करियरमा अहिले फिल्मको संख्या निकै कम भएको छ।
ऐश्वर्या राय बच्चनको फिल्मी यात्रा मिस वर्ल्डको ताज जितेपछि मात्र सुरु भएको होइन। फिल्म क्षेत्रमा प्रवेश गर्नुअघि नै उनले मोडलिङ क्षेत्रमा आफ्नो पहिचान बनाइसकेकी थिइन्।
सन् १९९१ मा उनले फोर्ड सुपरमोडल प्रतियोगितामा भाग लिएकी थिइन्। त्यसपछि उनी विभिन्न ठूला ब्रान्डका विज्ञापन र फेसन म्यागजिनमा देखिन थालिन्। सन् १९९० को दशकको सुरुवातमै उनलाई फिल्ममा अभिनय गर्ने प्रस्ताव आउन थालेका थिए।
सन् २०१२ मा ‘भोग इन्डिया’लाई दिएको अन्तर्वार्तामा ऐश्वर्याले मिस इन्डिया र मिस वर्ल्ड प्रतियोगितामा सहभागी हुनुअघि नै आफूलाई कम्तीमा चारवटा फिल्मको प्रस्ताव आएको स्वीकारेकी थिइन्।
त्यतिबेला उनले फिल्ममा प्रवेश गर्नुभन्दा मिस इन्डिया प्रतियोगितामा सहभागी हुने निर्णय गरिन्। केही समय फिल्म उद्योगबाट टाढा रहेर करियरका अन्य विकल्पबारे सोच्न चाहेको उनको भनाइ थियो।
उनका अनुसार, यदि उनले मिस इन्डिया प्रतियोगितामा भाग नलिएको भए आमिर खानसँगको फिल्म ‘राजा हिन्दुस्तानी’ उनको पहिलो फिल्म हुन सक्थ्यो। सन् १९९६ मा रिलिज भएको उक्त फिल्ममा पछि करिश्मा कपूरले अभिनय गरेकी थिइन्।
ऐश्वर्या रायले जनवरी १९९४ मा मिस इन्डिया प्रतियोगितामा भाग लिएकी थिइन्। उक्त प्रतियोगितामा उनी सुस्मिता सेनपछि दोस्रो स्थानमा रहेकी थिइन्।
त्यसपछि नोभेम्बरमा उनले दक्षिण अफ्रिकाको सन सिटीमा आयोजित मिस वर्ल्ड प्रतियोगितामा भारतको प्रतिनिधित्व गरिन्।
उनी रीता फारियापछि दोस्रो मिस वर्ल्ड बन्ने भारतीय महिला हुन्। प्रतियोगिताको अन्तिम चरणमा उनलाई मिस वर्ल्डमा कस्ता गुण हुनुपर्छ भन्ने प्रश्न सोधिएको थियो।
जवाफमा उनले करुणा, आवश्यकतामा परेका मानिसप्रति संवेदनशीलता र राष्ट्रियता, रङ तथा सामाजिक हैसियतभन्दा माथि उठेर मानिसलाई मानिसकै रूपमा हेर्नुपर्ने कुरा बताएकी थिइन्। उनको यो जवाफले पनि उनलाई विश्वभर चिनायो।
मिस वर्ल्ड बनेपछि उनको जीवनमा ठूलो परिवर्तन आयो। उनले अन्तर्राष्ट्रिय मञ्चमा भारतको प्रतिनिधित्व गर्ने अवसर पाइन्।
फेसन शो, सञ्चारमाध्यमसँगका अन्तर्वार्ता, सामाजिक कार्यक्रम र विभिन्न देशको भ्रमणले उनलाई भारतीय मोडलबाट अन्तर्राष्ट्रिय सेलिब्रिटीका रूपमा स्थापित गरायो।
सन् १९९७ मा उनले मणिरत्नमको तमिल फिल्म ‘इरुवर’बाट अभिनय यात्रा सुरु गरिन्। यस फिल्ममा उनीसँग मोहनलाल र प्रकाश राज पनि थिए। फिल्मले समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो।
त्यही वर्ष उनको पहिलो हिन्दी फिल्म ‘और प्यार हो गया’ रिलिज भयो। यसमा उनी बबी देओलसँग देखिएकी थिइन्।
फिल्मले बक्स अफिसमा ठूलो सफलता हासिल गर्न सकेन। तर ऐश्वर्याको सुन्दरता र पर्दामा देखिने प्रभावको चर्चा हुन थाल्यो।
ऐश्वर्याको करियरका महत्वपूर्ण फिल्ममध्ये सञ्जय लीला भन्सालीको ‘देवदास’ पनि एक हो। सन् २००२ मा रिलिज भएको यस फिल्ममा उनले पारोको भूमिका निर्वाह गरेकी थिइन्। शाहरुख खान र माधुरी दीक्षितसँग उनको अभिनय दर्शक तथा समीक्षकले रुचाएका थिए।
यो फिल्म सन् २००२ को कान्स फिल्म फेस्टिभलमा पनि प्रदर्शन गरिएको थियो। त्यसपछि ऐश्वर्याको अन्तर्राष्ट्रिय पहिचान अझ बलियो भयो।
सन् २००३ मा उनी कान्स फिल्म फेस्टिभलको निर्णायक मण्डलमा सहभागी हुने पहिलो भारतीय अभिनेत्री बनिन्। यो भारतीय सिनेमाका लागि ठूलो उपलब्धि थियो।
अब उनको पहिचान बलिउड अभिनेत्रीमा मात्र सीमित रहेन। उनी अन्तर्राष्ट्रिय फिल्म महोत्सव, फेसन कार्यक्रम र विश्वव्यापी ब्रान्डहरूका बीच पनि परिचित हुन थालिन्। उनी बलिडत, तमिलमात्र होइत हलिउडमा समेत काम गरेकी छन्।
ऐश्वर्याको अन्तर्राष्ट्रिय करियरको एउटा रोचक पक्ष के हो भने उनलाई हलिउडका धेरै ठूला फिल्ममा अभिनय गर्ने प्रस्ताव आएको थियो। तर उनी ती फिल्मको हिस्सा बन्न सकिनन्।
उनका अनुसार भारतमा फिल्मको काम अत्यधिक व्यस्त हुने भएकाले अन्तर्राष्ट्रिय प्रोजेक्टका लागि समय निकाल्न कठिन हुन्थ्यो।
हाल उनी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान कायम राखिरहेकी छन्। तर हिन्दी सिनेमामा लामो समयदेखि कुनै ठूलो फिल्म शृङ्खला वा मुख्य भूमिकामा देखिएकी छैनन्।
फिल्मबीच लामो अन्तराल हुनुको एउटा कारण उनको आफ्नै प्राथमिकता र काम गर्ने शैली पनि हो।ऐश्वर्याको विश्वव्यापी पहिचानको ठूलो हिस्सा कान्स फिल्म फेस्टिभलसँग पनि जोडिएको छ।
सन् २००२ मा ‘देवदास’मार्फत उनले कान्समा आफ्नो उपस्थिति जनाएकी थिइन्। सन् २००३ मा उनी उक्त महोत्सवको निर्णायक मण्डलमा सहभागी भएकी थिइन्।त्यसयता उनी कान्सको रेड कार्पेटमा भारतको प्रतिनिधित्व गर्दै आएकी छन्।
उनको पहिरन, लुक र रेड कार्पेटमा देखिने शैलीबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा निरन्तर चर्चा हुने गरेको छ।
उनी ठूला फेसन ब्रान्ड र अन्तर्राष्ट्रिय कार्यक्रममा पनि सहभागी हुँदै आएकी छन्।
लोरियल पेरिससँगको उनको सम्बन्ध उनको विश्वव्यापी ब्रान्ड पहिचानको महत्वपूर्ण हिस्सा बनेको छ।
ऐश्वर्याको पहिचान फिल्ममा मात्र सीमित छैन। उनी भारतीय सिनेमा, फेसन, सौन्दर्य र अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चमा भारतको प्रतिनिधित्व गर्ने प्रमुख व्यक्तित्वमध्ये एक बनिसकेकी छन्।

प्रतिक्रिया