जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र राजनीतिक विवादलाई लिएर शनिबार युरोपका विभिन्न प्रमुख सहरमा विरोध प्रदर्शन भएका छन्।

सामाजिक सञ्जालमार्फत प्रदर्शनका लागि आह्वान गरिएपछि विभिन्न देशमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो।

फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार देशभर भएका प्रदर्शनमा करिब तीन लाख २० हजार मानिस सहभागी भए।

तीमध्ये ७० हजार पेरिसमा थिए। आयोजकहरूले भने देशभर पाँच लाख र राजधानीमा दुई लाख मानिस सहभागी भएको दाबी गरेका छन्।

प्रदर्शनलाई ध्यानमा राख्दै देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। अधिकांश प्रदर्शन शान्तिपूर्ण भए पनि केही स्थानमा प्रहरीसँग झडप भएको थियो।

फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार प्रदर्शनका क्रममा ४२२ जना पक्राउ परेका छन्।

जर्मनीका ३० भन्दा बढी सहरमा भएका प्रदर्शनमा सार्वजनिक सेवामा लगानी बढाउन, महँगी नियन्त्रण गर्न र अनिवार्य सैन्य सेवाको व्यवस्था हटाउन माग गरिएको थियो।

आयोजकहरूका अनुसार १२ सहरको तथ्याङ्कमा मात्रै ६८ हजारभन्दा बढी सहभागी भएका थिए।

फ्र्याङ्कफर्टमा प्रहरी अधिकारी घाइते भएका थिए भने ह्याम्बर्गमा अवरोधका लागि राखिएका बारमा आगजनी गरिएको थियो।

ब्रेमेनमा पनि प्रहरीमाथि आक्रमण भएको जर्मन समाचार संस्था डीपीएले जनाएको छ।

इटालीमा सार्वजनिक सेवा र जीवनयापनको खर्चलाई लिएर शुक्रबार ६० भन्दा बढी सहरमा प्रदर्शन भएका थिए।

युनियनको अनुमानमा १५ लाख मानिस सहभागी भए पनि गृह मन्त्रालयले सहभागी सङ्ख्या दुई लाख ५५ हजार रहेको जनाएको छ।

शनिबार पनि रोमस्थित कोलोसियम नजिक प्रदर्शनकारी भेला भएका थिए।

पोर्चुगलको लिस्बन र पोर्टोमा आवासको समस्या समाधान गर्न माग गर्दै एक हजारभन्दा बढी मानिसले प्रदर्शन गरेका थिए। लिस्बनमा प्रदर्शनकारीले रोसियो स्क्वायरमा रात बिताउने तयारी गरेका थिए।

यसैबीच, अल्बानियाको राजधानी तिरानामा प्रधानमन्त्री एदी रामाको राजीनामालगायत माग राखेर भइरहेको प्रदर्शन शनिबार १९औँ दिन पनि जारी रह्यो।

प्रदर्शनका क्रममा प्रहरीमाथि पेट्रोल बम र ढुङ्गा प्रहार भएपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो

पोल्याण्डको वार्सामा संवैधानिक न्यायाधिकरणको संरचना र नेतृत्वलाई लिएर प्रदर्शन भएको थियो। यता नेदरल्याण्ड्सको द हेगमा सामाजिक सञ्जालबाट भएको आह्वानपछि भेला भएका भीडलाई प्रहरीले तितरबितर पारेको थियो। प्रहरीले दिनभर ३४ जनालाई पक्राउ गरेको जनाएको छ।

स्पेनको म्याड्रिड, बार्सिलोना र भ्यालेन्सियामा पनि सम्भावित अशान्ति रोक्न सुरक्षा व्यवस्था कडा पारिएको थियो।

अघिल्लो सप्ताहन्त बार्सिलोनामा भएको झडपमा १५ प्रहरी अधिकारी घाइते भएका र १२८ जना पक्राउ परेका थिए।

स्पेनी समाचार संस्था ईएफईका अनुसार अनलाइनमार्फत हिंसा भड्काएको आशङ्कामा प्रहरीले देशभर १० जनालाई पक्राउ गरेको थियो।