अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले बाइनान्सबाट ६ अर्ब ३० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरी भएको जनाएको छ।

विश्वकै ठुलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्ममध्ये एक बाइनान्समा भएको उक्त चोरीमा उत्तर कोरियाको संलग्नता रहेको एफबीआईको दाबी छ।

एफबीआईले सार्वजनिक गरेको विवरणमा उत्तर कोरियासँग सम्बन्धित ‘ट्रेडरट्रेटर’ नामक सरकारी समर्थन प्राप्त ह्याकर समूहले बाइनान्समाथि साइबर आक्रमण गरेको उल्लेख गरेको हो। यस घटनालाई अहिलेसम्मकै ठुलो क्रिप्टोकरेन्सी चोरीका रूपमा लिइएको छ।

अक्टोबर २९ मा भएको आक्रमणका क्रममा बाइनान्सका विभिन्न डिजिटल वालेटबाट बिटक्वाइन, इथेरियमलगायतका क्रिप्टोकरेन्सी चोरी भएका थिए। ब्लकचेन अनुसन्धान संस्था टीआरएम ल्याब्सका अनुसार आक्रमणकारीले १० वटा ब्लकचेन नेटवर्कबाट करिब ६ अर्ब ३६ करोड डलर बराबरका डिजिटल सम्पत्ति लगेका थिए। चोरीको ठुलो हिस्सा करिब २० मिनेटभित्रै भएको थियो।

एफबीआईका अनुसार चोरी गरिएका डिजिटल सम्पत्तिलाई आक्रमणकारीले मुख्य रूपमा इथेरियममा रूपान्तरण गरिरहेका छन्। चोरीको रकम लुकाउन र त्यसको स्रोत पहिचान हुन नदिन थप डिजिटल कारोबार तथा प्रविधिको प्रयोग हुन सक्ने भन्दै एफबीआईले क्रिप्टो एक्सचेन्ज र ब्लकचेन विश्लेषण गर्ने संस्थालाई सम्बन्धित वालेट ठेगानाबाट हुने कारोबार रोक्न आग्रह गरेको छ।

यसैबिच, बाइनान्सले चोरी भएको रकमको ठुलो हिस्सा आफ्नै स्रोतबाट पूर्ति गर्ने जनाएको छ। कम्पनीका अनुसार प्रयोगकर्ताको क्षतिमा परेको ६ अर्ब ३० करोड डलरमध्ये करिब ६ अर्ब डलर बराबरको रकम प्रतिस्थापन गरिएको छ। बाँकी रकम भने कम तरलता भएका डिजिटल सम्पत्तिमा रहेकाले आवश्यक परिमाण जुटाउन थप समय लाग्न सक्ने कम्पनीले जनाएको छ।

बाइनान्सले प्रयोगकर्ताको रकम सुरक्षित रहेको बताउँदै रोकिएका कारोबार तथा निकासी सेवा चरणबद्ध रूपमा पुनः सुरु गर्ने जनाएको छ। चोरी भएको रकममध्ये केही हिस्सा विभिन्न ब्लकचेन तथा क्रिप्टो कम्पनीको सहयोगमा रोक्का गर्न पनि सफल भएको बताइएको छ।

उत्तर कोरियामाथि यसअघि पनि विभिन्न ठुला क्रिप्टोकरेन्सी चोरी र साइबर आक्रमणमा संलग्न रहेको आरोप लाग्दै आएको छ। सन् २०२५ को फेब्रुअरीमा क्रिप्टो प्लेटफर्म बाइबिटबाट करिब एक अर्ब ५० करोड डलर चोरी भएको घटनामा पनि ‘ट्रेडरट्रेटर’ समूहलाई जिम्मेवार ठहर गरिएको थियो।

उत्तर कोरियाले भने राज्य समर्थित समूहहरू जासुसी, आर्थिक चोरी तथा अन्य साइबर गतिविधिमा संलग्न रहेको आरोप अस्वीकार गर्दै आएको छ। पछिल्लो घटनाबारे पनि उत्तर कोरियाबाट औपचारिक प्रतिक्रिया आएको छैन। एजेन्सीको सहयोगमा