फुटबल व्यवस्थापकको जिम्मेवारी विगत केही दशक यता धेरै फेरिएको छ। विश्व फुटबलमा पछिल्ला समय भएका केही घटनाले पनि फुटबल व्यवस्थापकका लागि कति चुनौती बन्दै गएको स्पष्ट हुन्छ।

जर्मन क्लल बायर्न म्युनिखका मुख्य प्रशिक्षक भिन्सेन्ट कोम्पनीको पछिल्लो स्वास्थ्य समस्याले यो पेसा अझै कति कठिन बन्दै छ भन्ने देखिन्छ। क्लबको प्रशिक्षण मैदानमा अचानक बेहोस भएर ढलेपछि ४० वर्षे कोम्पनीलाई अस्पताल भर्ना गरिएको थियो तर उनी डिस्चार्ज भइसकेका छन्। उनको स्वास्थ्यमा सुधार आएको क्लबले जनाएको छ।

गत शुक्रबार क्लबको दोस्रो टोलीको प्रशिक्षण हेर्ने क्रममा अस्वस्थ भएपछि उनलाई अस्पताल लगिएको थियो। उनलाई मेनिन्जियल इरिटेसन (मस्तिष्क र मेरुदण्डलाई घेरेर सुरक्षा प्रदान गर्ने झिल्लीमा हुने समस्या) भएको पुष्टि भएको छ। यसले फुटबल व्यवस्थापकका लागि यो पेसा व्यस्त, चुनौतीपूर्ण र शारीरिक तथा मानसिक रूपमा थकाउने खालको छ भन्ने पुनः स्मरण गराएको छ।

बेल्जियमका पूर्वस्टार खेलाडी कोम्पनीले पनि यस्तै समस्या सामना गर्नुप¥यो। सन् १९८५ मा विश्वकप छनोटअन्तर्गत वेल्सविरुद्धको खेलपछि स्कटल्यान्डका प्रशिक्षक जोक स्टिनको निधनदेखि विभिन्न समयमा ग्रिम सौनेस, सर एलेक्स फर्गुसन, जेरार्ड होलियर, जो किनियर र ह्यारी रेडन्यापले भोगेका मुटुसम्बन्धी समस्यासम्म घटना छन्। यी घटनाले कोम्पनीलाई आफ्नो पेसामा लुकेका जोखिमबारे सधैं सचेत गराउँदै आएको उनी बताउँछन्। २५ वर्षअघि लेस्टरका तत्कालीन प्रशिक्षक डेभ बासेट र बोल्टनका प्रशिक्षक साम एलार्डाइस एउटा प्रयोगमा सहभागी भएका थिए। उनीहरूबिचको खेलका क्रममा दुवै प्रशिक्षकलाई मुटुको चाल मापन गर्ने उपकरण जडान गरिएको थियो।

खेल चलिरहँदा दुवैको मुटुको चाल खतरनाक स्तरसम्म पुग्यो। तर, फुटबल व्यवस्थापनले स्वास्थ्यमा पार्ने असर खेल भइरहेका बेला मात्रै सीमित हुँदैन। प्रशिक्षकले निरन्तर भोग्नुपर्ने तनाव र दबाबले पनि उनीहरूको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। यो तनाव निरन्तर रहन्छ। त्यसैले आफूलाई स्वस्थ राख्ने उपाय खोज्नु प्रत्येक प्रशिक्षकका लागि आवश्यक हुन्छ। ‘मैले आफ्नो प्रशिक्षण करिअरको सुरुआतमै यस विषयलाई बुझ्ने अवसर पाएँ। त्यतिबेला आफ्नो स्वास्थ्य व्यवस्थापनमा म निकै कमजोर थिएँ,’ क्रिस्टल प्यालेसका पूर्वप्रशिक्षक टोनी पुलिस भन्छन्, ‘खेलाडी र त्यसपछि प्रशिक्षकका रूपमा काम गर्दा मैले आफ्नो सम्पूर्ण व्यावसायिक जीवन विभिन्न प्रशिक्षकसँगै बिताएँ।’

उनी सन् १९९२ मा पहिलोपटक बर्नमाउथको प्रशिक्षक बने। ‘मैले यो जिम्मेवारी कति व्यस्त, समय खपत गर्ने र तनावपूर्ण रहेछ भन्ने वास्तविक रूपमा महसुस गरेँ,’उनी भन्छन्। उनी आफ्नो सम्पूर्ण प्रशिक्षण करिअरमा क्लबका सबै फुटबलसम्बन्धी निर्णय आफैं लिन चाहन्थे। यसको अर्थ खेलाडीको खोजी गर्नेदेखि आफूले चाहेका खेलाडी अनुबन्ध गर्नेसम्म। मैदानको काम पनि आफैं गर्थे। पहिलो टोलीदेखि रिजर्भ र युवा टोलीसम्मका कर्मचारी तथा प्रशिक्षकको व्यवस्थापन पनि उनको जिम्मेवारीभित्र पर्थ्याे। यी सबै काम क्लबको आर्थिक सीमाभित्र रहेर गर्नुपर्ने हुन्थ्यो। ‘टोलीको प्रदर्शनलाई मुख्य जिम्मेवारीका रूपमा लिन्थेँ। त्यसैले प्रशिक्षण मैदानमा पनि मेरो सक्रियता कहिल्यै कम भएन। खेलाडीको क्षमता र आवश्यकताअनुसार प्रशिक्षण गराउँथें। ताकि उनीहरूले राम्रो प्रदर्शन गर्दै खेल जित्ने सम्भावना बढाउन सकून्,’ करिब तीन दशक प्रशिक्षकका रूपमा काम गरेका पुलिसले उल्लेख गरे।

अन्ततः टोलीको नतिजाले नै प्रशिक्षकका रूपमा उनको भविष्य निर्धारण हुन्थ्यो। त्यतिबेला अधिकांश इङ्लिस क्लबको सञ्चालन शैली पनि यस्तै थियो। त्यसैले यस्तो जिम्मेवारी वहन गर्ने एक्लो प्रशिक्षक थिएनन् तर कामको चाप निरन्तर बढिरहन्थ्यो। त्यो सबै सामना गर्न आफ्नो स्वास्थ्यको ख्याल कसरी राख्ने भन्ने पनि सिक्नुपर्ने थियो। ‘करिअरको सुरुआतमा आफ्नो स्वास्थ्य व्यवस्थापनमा म कमजोर थिएँ,’ उनले भने,‘यसको सुरुआत खानपानबाटै हुन्छ।

त्यतिबेला खेलाडीको खोजीमा म राजमार्गमा लामो दूरीसम्म गाडी चलाएर हिँड्थेँ। बाटोमा कतै माछा र चिप्स पाइने पसल खोज्थेँ। कहिलेकाहीँ स्थानीय पसलबाट किनिएको स्यान्डविचकै भरमा दिन बिताउँथेँ।’

त्यसैले आफ्नो खानपान राम्रो नभएको वा शारीरिक तन्दुरुस्ती कायम राख्न आवश्यक व्यायाम नपुगेको विषयमा उनी कहिल्यै गम्भीर भएर सोच्दैनथे।

अर्कोतर्फ टोलीले खेल जित्नैपर्ने दबाब सधैं उनको काँधमा हुन्थ्यो। हरेक साता टोलीको नतिजा र प्रदर्शनको जिम्मेवारी आफैंले लिनुपर्ने हुँदा मानसिक दबाब पनि उनमा क्रमशः बढ्दै गयो। टोलीले केही खेल हार्न थालेपछि मात्रै प्रशिक्षकका रूपमा आफूले भोग्नुपर्ने तनाव कति ठूलो हुँदो रहेछ भन्ने महसुस गर्न थालेको उनी बताउँछन्।

टोलीको खराब नतिजापछि हुने हरेक आलोचना अन्ततः मेरै भागमा आइपुग्थ्यो। जसले उनमा मानसिक असर बढ्दै गएको उनले स्मरण गरे। आजका प्रशिक्षकका लागि पनि यो पक्ष उस्तै छ तर प्रशिक्षकले विगतको तुलनामा क्लब सञ्चालनका धेरै जिम्मेवारी लिनु नपर्ला। तथापि कहिल्यै नभेटेका मानिसबाट सञ्चारमाध्यममार्फत हुने आलोचना भने उनीहरूले निरन्तर सहनुपर्छ। त्यस्तो आलोचना गर्दा टोलीको प्रदर्शन र नतिजामा प्रभाव पारिरहेका अन्य पक्षलाई समेत बेवास्ता गरिन्छ। यही कारण प्रशिक्षकको पेसा यति तनावपूर्ण हुन्छ। सबैको आक्रमण र आलोचनाको निसाना प्रशिक्षक नै बन्छ। त्यसबाट आफूलाई जोगाउने अर्को कुनै उपाय हुँदैन। अन्ततः खेल जित्नु नै आलोचनाबाट बच्ने एक मात्र माध्यम हुन्छ।