भारतीय फिल्म उद्योगबाट एउटा दुखद खबर आएको छ। चर्चित निर्माता तथा निर्देशक सञ्जय गुप्ताको निधन भएको छ। उनले अक्टोबर ३० मा संसारलाई सदाका लागि बिदा गरेका हुन्। उनको निधन टाउकोमा चोट लागेका कारण भएको बताइएको छ।

फिल्म निर्माता तथा फेडेरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइजका प्रमुख सल्लाहकार अशोक पण्डितले सामाजिक सञ्जालमार्फत सञ्जय गुप्ताको निधनको खबर पुष्टि गरेका हुन्। उनको निधनले सम्पूर्ण भारतीय फिल्म उद्योग शोकमा डुबेको छ।

अशोक पण्डितले इन्स्टाग्राममा भावुक सन्देश लेख्दै सञ्जय गुप्ताको निधनप्रति दुःख व्यक्त गरेका छन्।

उनले लेखे, ‘यो साँच्चिकै अत्यन्तै स्तब्ध बनाउने दुःखद खबर हो। भर्खरै हाम्रा प्रिय साथी तथा चर्चित निर्देशक सञ्जय गुप्ता अब हामीबीच नरहेको खबर पाएँ। घरमा टाउकोमा चोट लागेका कारण उनको निधन भएको हो। अर्को एउटा प्रतिभा निकै चाँडै यो संसारबाट बिदा भएको छ। उनी उत्कृष्ट कथावाचक, जीवन्त व्यक्तित्व र सिनेमा बनाउन निकै समर्पित फिल्ममेकर थिए। उनको निधन हाम्रो फिल्म उद्योगका लागि ठूलो क्षति हो। साथी, तिमीलाई धेरै सम्झिनेछु।’

सञ्जय गुप्ताको अन्तिम संस्कारसम्बन्धी जानकारी चाँडै सार्वजनिक गरिने पनि बताएका छन्।

वर्सोवा प्रहरीका अनुसार हिन्दी फिल्मका निर्माता सञ्जय गुप्ता अघिल्लो रात घरमा लडेर घाइते भएका थिए। सन्तुलन बिग्रिएर लड्दा उनको टाउकोमा चोट लागेको थियो। चोटका कारण अत्यधिक रक्तस्राव भएपछि उनको मृत्यु भएको बताइएको छ।

घटनाका बेला घरमा उनकी पत्नी, दुई छोरा र घरेलु सहयोगी उपस्थित थिए। तर रातिको समयमा परिवारका सबै सदस्य सुतिरहेका कारण कसैले पनि घटनाबारे तत्काल थाहा पाएनन्। बिहान मात्रै घटनाबारे जानकारी भएको थियो।

परिवारले घटनाप्रति कुनै शंका वा उजुरी व्यक्त नगरेको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि पठाइएको छ भने वर्सोवा प्रहरीले आकस्मिक मृत्युको घटनाका रूपमा अनुसन्धान अघि बढाएको छ।

५७ वर्षीय सञ्जयले आफ्नो करियरमा धेरै चर्चित फिल्म निर्माण तथा निर्देशन गरेका थिए। उनका लोकप्रिय फिल्महरूमा ‘काँटे’, ‘शूटआउट एट वडाला’, ‘काबिल’, ‘आतिश’, ‘राम शास्त्र’, ‘जंग’, ‘जज्बा’, ‘जिन्दा’, ‘हमेशा’, ‘मुसाफिर’, ‘दस कहानियाँ’, ‘मुम्बई सागा’ र ‘खौफ’ लगायतका फिल्म रहेका छन्।

त्यसैगरी उनले ‘शूटआउट एट लोखण्डवाला’, ‘प्लान’, ‘वुडस्टक भिल्ला’, ‘एसिड फ्याक्ट्री’ र ‘पंख’ जस्ता फिल्म निर्माण गरेका थिए।