डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदी तथा थुनुवा फरार भएका छन्। शनिबार बिहान कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि उनीहरू फरार भएको खुलेको हो।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार बिहान करिब ६ बजे कैदीबन्दी गणना गर्दा ८ जना नभेटिएपछि घटना सार्वजनिक भएको हो। अहिले कारागारको सीसीटीभी फुटेज हेरेर घटनाबारे अनुसन्धान भइरहेको उनले बताइन्।
फरार हुनेमा रुकुम पश्चिम, डोल्पा, सल्यान र जाजरकोटका गरी ८ जना छन्। तीमध्ये ६ जना विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका कैदी हुन् भने दुई जना चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।
फरार हुनेहरूमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का ३२ वर्षीय राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ का २९ वर्षीय कालिप्रसाद रोकाय, सल्यानको कुमाख गाउँपालिका-५ का २८ वर्षीय रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका-१ का २५ वर्षीय यज्ञ विक छन्।
त्यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ का २८ वर्षीय हरिबहादुर बुढा, जाजरकोटको नलगाड नगरपालिका-९ का १९ वर्षीय कपिल परियार, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-५ का ३८ वर्षीय तिलक भण्डारी र आठबिसकोट नगरपालिका-३ का ३२ वर्षीय आदेश भण्डारी पनि फरार भएका छन्।
प्रहरी तथा प्रशासनले घटनाबारे थप विवरण संकलन गरिरहेको छ। सुरुङ खनेर उनीहरू कसरी कारागारबाट बाहिरिए भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया