उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको अवस्थामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई विभिन्न सावधानी अपनाउन आग्रह गरेको छ।
हिमपातका कारण अत्यधिक चिसो हुनुका साथै स्वास्थ्य समस्या र दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले केही गल्ती नगर्न प्राधिकरणले सचेत गराएको हो।
प्राधिकरणका अनुसार हिमपातका बेला चिसो वा भिजेको कपडा लगाउनु हुँदैन। यस्ता कपडाले शरीरको तापक्रम छिटो घटाउन सक्छन्। त्यसैले शरीरका सबै भाग ढाक्ने गरी बाक्लो र न्यानो लुगा लगाउनुपर्छ। सुत्दा न्यानो सिरक तथा कम्मल प्रयोग गर्नुका साथै छाती र टाउको अनिवार्य रूपमा ढाक्नुपर्छ।
त्यस्तै, हिउँ वा बरफ खानु हुँदैन। पानी जमेको अवस्थामा बरफ तताएर पानी बनाएर मात्र पिउनुपर्छ। बेलाबेलामा तातो पानी तथा पोषिलो झोल पदार्थ प्रशस्त मात्रामा पिउन पनि प्राधिकरणले सुझाव दिएको छ।
कोठा न्यानो बनाउन आगो वा हिटर बाल्दा सबै झ्यालढोका बन्द गर्नु अर्को जोखिमपूर्ण गल्ती हुन सक्छ। त्यसैले कोठामा हावा ओहोरदोहोर हुने व्यवस्था मिलाउनुपर्ने प्राधिकरणले जनाएको छ।
हिमपात भइरहेका बेला अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल नगर्न पनि आग्रह गरिएको छ। हिउँ वा तुसारो जमेको सडकमा सवारी चलाउँदा चिप्लिएर दुर्घटना हुन सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने प्राधिकरणले जनाएको छ। पदयात्री तथा पर्वतारोहीले पनि पर्याप्त सुरक्षा प्रबन्ध गरेर मात्र यात्रा गर्नुपर्नेछ।
चिसोका कारण स्वास्थ्य समस्या देखिन सक्ने भएकाले बालबालिका, गर्भवती, सुत्केरी तथा ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न प्राधिकरणले आग्रह गरेको छ। दुधे बालबालिकालाई नियमित स्तनपान गराउन पनि सुझाव दिइएको छ।
ज्वरो आउने, झाडापखाला लाग्ने, दम बढ्ने, खोकी लाग्ने, घ्यारघ्यार हुने वा सास फेर्न कठिनाइ भएमा तत्काल स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।
प्राधिकरणले हिमपात र अत्यधिक चिसोबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न सबैलाई सचेत रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।


प्रतिक्रिया