बोलेरो दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पप्पु डाँगी रहेका छन्।
उनको उपचारका क्रममा मृत्यु भएको हो। उनको मृत्युसँगै सल्यानमा शुक्रबार राति भएका दुई दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।
यसअघि बनगाड कुपिण्डे नगरपालिका–११ गरामा बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका थिए। खलंगा–बालुवा संग्राही सडकखण्डमा चौरबाट बालुवा संग्राहीतर्फ आउँदै गरेको रा.१ च १७२३ नम्बरको डबल क्याब बोलेरो सडकबाट करिब १०० मिटर तल खसेको थियो।
दुर्घटनामा सुर्खेतको गुर्भाकोट नगरपालिका–२ मालारानीका २५ वर्षीय पप्पु डाँगी र बोलेरो चालक २३ वर्षीय अम्मरबहादुर घर्ती गम्भीर घाइते भएका थिए। उनीहरूलाई थप उपचारका लागि सुर्खेत पठाइएको थियो।
अन्य घाइतेमा २२ वर्षीय पुनम बुढा, १५ वर्षीय तिलक वली, ३२ वर्षीया निर्मला ओली, १८ वर्षीय उत्तम डाँगी, २६ वर्षीय छितिज डाँगी, १२ वर्षीया पवित्रा डाँगी, १५ वर्षीय झलक डाँगी, २१ वर्षीया पिमकली डाँगी, २५ वर्षीया हरिमाया ओली र १८ वर्षीया समीक्षा ओली रहेका छन्।
घाइतेमध्ये निर्मला ओली र उत्तम डाँगीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि सुर्खेत पठाइएको थियो। पिमकली डाँगीलाई पनि सुर्खेत तथा हरिमाया ओली र समीक्षा ओलीलाई नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेको नगर अस्पताल देवस्थल र सल्लीबजारमा उपचार भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोषसिंह राठौरले जानकारी दिए।
यो सँगै सल्यानका दुई स्थानमा शुक्रबार राति भएका जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ भने १८ जना घाइते भएका छन्।

प्रतिक्रिया