डेढ दशकअघिसम्म नेपालमा मस्तिष्कघात भएर अस्पताल पुग्नेहरू प्रायः वृद्ध उमेरका हुन्थे तर पछिल्लो समय युवाहरूमा पनि मस्तिष्कघात बढ्दै गएको छ। मस्तिष्कघात भएर अस्पतालमा उपचारका लागि पुग्नेमा युवाको संख्या उल्लेखनीय छ।

त्रिवि शिक्षण अस्पतालका न्युरोइन्टरभेन्सनलोजिस्ट डा. सुभाष फुयाँलका अनुसार अस्पतालमा प्रतिवर्ष मस्तिष्कघातका औसत एक हजार २६० बिरामी उपचारका लागि पुग्छन्। तीमध्ये २० देखि २५ प्रतिशत ५० वर्षमुनिका छन्। वीर अस्पतालको न्युरोलोजी विभागका अनुसार त्यहाँ प्रतिवर्ष औसत ६५० जना मस्तिष्कघातका बिरामी भर्ना हुन्छन्। तीमध्ये ३० देखि ३५ प्रतिशत ५० वर्षमुनिका छन्।

विश्व स्वास्थ्य संगठनको आकलनअनुसार चार जनामध्ये एक जनालाई जीवनकालमा मस्तिष्कघात हुने जोखिम हुन्छ। सन् २०१९ सम्म मृत्युको पाँचौं प्रमुख कारण मस्तिष्कघात रहेकोमा हाल तेस्रो स्थानमा पुगेको चिकित्सकहरू बताउँछन्।

नेपालमा मस्तिष्कघातसम्बन्धी पछिल्लो राष्ट्रिय तथ्यांक उपलब्ध छैन। तर अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको अवस्था हेर्दा मस्तिष्कघात हुनेको संख्या बढिरहेको वीर अस्पतालका न्युरोलोजी विभाग प्रमुख डा. सुनील कोइराला बताउँछन्।

डेढ दशकको अवधिमा मस्तिष्कघात युवातिर फैलिँदै गएको उनको अनुभव छ। ‘पहिला ७०–७५ वर्षका बिरामीमा बढी देखिन्थ्यो। अहिले २५–३० वर्षकै उमेरमा मस्तिष्कघात भएका धेरै बिरामी आइरहेका छन्,’ डा. कोइरालाले भने। उनी सन् २०१२ देखि वीर अस्पतालमा निरन्तर कार्यरत छन्।

त्यसैगरी त्रिवि शिक्षण अस्पतालका न्युरोइन्टरभेन्सनलोजिस्ट डा. फुयाँल भन्छन्, ‘मैले ३२ वर्षका बिरामीमा पनि मस्तिष्कघात भएको उपचार गरेको छु।’ नेपालसहित अन्य विकासोन्मुख देशमा युवाहरूमा मस्तिष्कघात बढ्दो क्रममा रहेको उनी औंल्याउँछन्।

मस्तिष्कघात भनेको के हो?

हृदयाघात हुँदा छाती दुख्नेलगायत लक्षण देखिने भएकाले नेपालमा पनि धेरैलाई यसबारे जानकारी छ। तर मस्तिष्कघातबारे धेरैलाई जानकारी नभएको चिकित्सक बताउँछन्। चिकित्सकका अनुसार मस्तिष्कमा रक्तप्रवाह गर्ने धमनीमा रगतको डल्लोले अवरोध पुर्‍याउँदा मस्तिष्कका कोषमा अक्सिजन र रगत पुग्दैन। यसरी मस्तिष्कका कोष नष्ट हुने अवस्थालाई मस्तिष्कघात भनिन्छ। मस्तिष्कको रक्तनली फुटेर रक्तश्र्राव हुँदा पनि मस्तिष्कघात हुन्छ।

मस्तिष्कमा रहेका स्नायुहरूले शरीरका विभिन्न अंगलाई सन्देश प्रवाह गर्छन्। मस्तिष्कका कोष नष्ट भए शरीरका अन्य अंगले सामान्य रूपमा काम गर्न सक्दैनन्। मस्तिष्ककै सन्देशका आधारमा देख्ने, बोल्ने, हातखुट्टा चलाउने र विभिन्न कुरा थाहा पाउनेजस्ता काम सञ्चालन हुन्छन्। मस्तिष्कघातका कारण यीमध्ये कुनैको स्नायुकोष नष्ट भए शरीरका एक वा बढी अंगले तत्काल काम गर्न छाड्न सक्छन्। शरीरको सन्तुलनसमेत बिग्रिन सक्छ। समयमै उपचार नपाए थप कोष नष्ट भई गम्भीर असर पुग्न सक्छ। उपचारमा ढिलाइ हुँदा पक्षाघात वा अन्य अपांगता भएर बाँच्नुपर्ने अवस्था आउन सक्छ।

वीर अस्पतालका न्युरोलोजिस्ट डा. कोइरालाका अनुसार धमनीमा बोसो जम्मा हुने तथा धमनीको भित्री पत्रमा क्षति पुग्नेजस्ता कारणले पनि रक्तप्रवाहमा अवरोध उत्पन्न भई मस्तिष्कघात हुन सक्छ। मस्तिष्कले हातखुट्टादेखि आँखा, अनुहार, मुख तथा स्नायु प्रणालीका विभिन्न अंगलाई सक्रिय राख्न सन्देश प्रवाह गर्छ। उपचारमा जति ढिलाइ भयो, त्यति नै शरीरका अन्य अंगमा असर पुग्ने जोखिम बढ्छ। गर्मीको तुलनामा जाडोमा मस्तिष्कघातको जोखिम बढी हुने चिकित्सक बताउँछन्।

मस्तिष्कघात कसरी चन्न सकिन्छ?

मस्तिष्कघातका लक्षण नजिकका व्यक्तिले समेत समयमै पहिचान गर्न नसक्दा नेपालमा धेरै बिरामी ढिलो अस्पताल पुग्ने गरेको चिकित्सक बताउँछन्। ‘हृदयाघातबारे धेरैलाई थाहा छ तर मस्तिष्कघातबारे धेरैलाई जानकारी छैन,’ डा. कोइरालाले भने।

ढिलो उपचारमा पुग्ने कतिपय बिरामी जीवनभर अपांगता वा पक्षाघातको अवस्थामा बाँच्न बाध्य हुन्छन्। डा. फुयाँलका अनुसार नेपालमा पहिला मृत्युको पाँचौं प्रमुख कारण रहेको मस्तिष्कघात अहिले तेस्रो स्थानमा पुगेको छ। मस्तिष्कघातबारे जनचेतना फैलाउन यस वर्ष विश्व मस्तिष्कघात दिवसमा ‘मस्तिष्कघात चिनौं र जीवन बचाऔं’ भन्ने नारा राखिएको हो।

चिकित्सकका अनुसार अनुहार एकातिर बांगिनु, हातखुट्टा अचानक कमजोर हुनु, बोली लरबरिनु, दृष्टिमा समस्या आउनु तथा शरीरको सन्तुलन बिग्रिनु मस्तिष्कघातका प्रमुख लक्षण हुन्। यस्ता लक्षण देखिएकालाई तत्काल अस्पताल पुर्‍याउनुपर्छ। चिकित्सकका अनुसार मस्तिष्कको धमनीमा रगतको डल्लो जमेर भएको मस्तिष्कघातमा लक्षण सुरु भएको साढे चार घन्टाभित्र उपयुक्त बिरामीलाई रगतको डल्लो पगाल्ने औषधि (थ्रोम्बोलाइसिस) दिन सकिन्छ। यसले अवरुद्ध धमनी खुलाउन मद्दत गर्छ।

निश्चित अवस्थाका बिरामीमा २४ घण्टाभित्र मेकानिकल थ्रोम्बेक्टोमी (क्याथल्याबमा तार छिराएर रगतको डल्लो निकाल्ने उपचार) गर्न सकिन्छ तर यो उपचार सबै अस्पतालमा उपलब्ध छैन।

नेपालमा करिब ६ वर्षअघिदेखि मेकानिकल थ्रोम्बेक्टोमी उपचार सुरु भएको हो। विश्वमा सन् २०१५ देखि यो प्रविधिको प्रयोग सुरु भएको थियो। नेपालमा काठमाडौं उपत्यकाभित्र त्रिवि शिक्षण अस्पताल, न्युरो अस्पताल बाँसबारी, अन्नपूर्ण न्युरो अस्पताल, ह्याम्स अस्पताल, नेपाल मेडिसिटी, बिएन्डबी अस्पताल र काठमाडौं मेडिकल कलेजलगायत अस्पतालमा यो सेवा उपलब्ध छ। उपत्यकाबाहिर चितवन र नेपालगन्जमा पनि सेवा सुरु गर्ने तयारी भइरहेको छ।

युवामै मस्तिष्कघात हुनुका कारण

चिकित्सकका अनुसार मस्तिष्कघातको जोखिम बढ्नुमा अस्वस्थ जीवनशैली प्रमुख कारणमध्ये एक हो। केही अवस्थामा भने वंशाणुगत कारणले पनि मस्तिष्कघात हुन सक्छ। वंशाणुगत जोखिमलाई परिवर्तन गर्न नसकिए पनि जीवनशैलीसँग सम्बन्धित जोखिम नियन्त्रण गर्न सकिन्छ।

निष्क्रिय जीवनशैली, तनाव, धूमपान, मदिरा सेवन, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मधुमेह र मोटोपना मस्तिष्कघातका प्रमुख जोखिम कारक हुन्। उच्च रक्तचापले रक्तनलीमा क्षति पुर्‍याउन सक्छ भने उच्च कोलेस्ट्रोलका कारण धमनीमा बोसो जम्मा भई रक्तप्रवाहमा अवरोध उत्पन्न हुन सक्छ। त्यसैगरी अत्यधिक मदिरा सेवनले रक्तचाप बढाउन सक्छ।

मधुमेहले रक्तनलीमा क्षति पुर्‍याउँछ भने धूमपानले धमनी साँघुरो बनाउने र रगत जम्ने जोखिम बढाउँछ। मोटोपना पनि उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलसँग सम्बन्धित भएकाले मस्तिष्कघातको जोखिम बढ्न सक्छ। पछिल्लो समय नेपालमा निष्क्रिय जीवनशैली, तनाव, धूमपान, मदिरा सेवन र मोटोपनाका कारण मस्तिष्कघातको जोखिम बढ्दै गएको चिकित्सक बताउँछन्। ‘आजका मानिस बढी तनावमा छन्। शारीरिक सक्रियता पनि कम छ,’ डा. कोइरालाले भने।

बच्ने उपाय

पहिले घन्टौं हिँड्ने मानिस अहिले छोटो दुरीमा पनि सवारीसाधन प्रयोग गर्न थालेका छन्। कार्यालयमा लामो समय बसेर काम गर्ने प्रवृत्ति पनि बढेको छ। यसले शारीरिक सक्रियता घटाएर मस्तिष्कघातका जोखिम कारक बढाएको चिकित्सकहरू बताउँछन्।

जोखिम कम गर्न सन्तुलित भोजन गर्ने, नियमित हिँडडुल तथा व्यायाम गर्ने, धूमपान नगर्ने र मदिरा सेवनबाट टाढा रहनेजस्ता सावधानी अपनाउन चिकित्सक सुझाव दिन्छन्। दैनिक करिब एक घण्टा हिँडडुल वा व्यायाम गर्ने बानीले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ। यसका साथै नियमित स्वास्थ्य परीक्षण गर्ने, रक्तचाप, मधुमेह र कोलेस्ट्रोल नियन्त्रणमा राख्ने तथा मोटोपना घटाउने उपाय अपनाए मस्तिष्कघातको जोखिम कम गर्न सकिन्छ। चिकित्सकका अनुसार मस्तिष्कघातबाट जोगिन स्वस्थ जीवनशैली अपनाउनुका साथै लक्षण देखिनासाथ अस्पताल पुग्नु अत्यन्त आवश्यक छ।