नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार दुई खेल हुने तालिका छ। तर, काठमाडौंमा भइरहेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेल प्रभावित हुने सम्भावना छ।
आजको पहिलो खेलमा दिउँसो १२:३० बजे चितवन राइनोज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुने तालिका छ। त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।
काठमाडौंमा बिहीबार रातिदेखि सुरु भएको वर्षा शुक्रबार दिनभर जारी रहेको थियो। शनिबार बिहानदेखि पनि वर्षा भइरहेको छ। दिउँसोपछि भने मौसममा सुधार आउन सक्ने पूर्वानुमान छ।
वर्षा नरोकिएमा खेल सुरु हुन ढिलाइ हुने वा ओभर घटाएर खेलाउनुपर्ने अवस्था आउन सक्छ। वर्षाका कारण खेल नै सञ्चालन हुन नसके दुवै टोलीले एक-एक अंक बाँड्नुपर्नेछ। एनपीएलमा खेलको नतिजा निकाल्न कम्तीमा दुवै टोलीले पाँच-पाँच ओभर खेल्नुपर्ने व्यवस्था छ।
एनपीएलमा वर्षाका कारण खेल रद्द भएमा अर्को दिन खेलाउने व्यवस्था अर्थात् रिजर्भ डे छैन। त्यसैले आजका दुवै खेलको भविष्य मौसम र मैदानको अवस्थामै निर्भर रहने देखिएको छ।

प्रतिक्रिया