विद्युत् प्रसारण तथा वितरण प्रणाली भूमिगत गर्ने र स्तरोन्नति गर्ने कामका लागि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आठ दिनसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा भूमिगत केबल बिछ्याउने तयारी गरेसँगै कात्तिक १३ देखि २० गतेसम्म दैनिक बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती गर्न लागेको हो।
प्राधिकरणको कार्यतालिकाअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी आसपासका क्षेत्रमा विद्युत् सेवा बन्द हुनेछ।
कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी चक्रपथदेखि स्युचाटार सबस्टेसनसम्म, १५ गते कलंकी, थानकोट र रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् आपूर्ति रोकिनेछ।
त्यसैगरी, कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी चक्रपथदेखि स्युचाटार सबस्टेसन क्षेत्र, १७ गते शंखमूल फिडरअन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म विद्युत् सेवा प्रभावित हुनेछ।
कात्तिक १८ र २० गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा बत्ती जानेछ भने १९ गते स्युचाटार एसएस फिडरअन्तर्गत हाजमा पुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार मौसम प्रतिकूल भएमा निर्धारित कार्यतालिका परिवर्तन वा रद्द हुन सक्नेछ। विद्युत् कटौतीका कारण उपभोक्तालाई पर्न सक्ने असुविधाप्रति क्षमा माग्दै प्राधिकरणले आवश्यक वैकल्पिक व्यवस्था मिलाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।

प्रतिक्रिया