कार्तिक २१, काठमाडौं – कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा नेकपा विप्लव, नेकपा ऋषी कट्टेल, र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले आइतबार  संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका छन ।

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिस्कार कार्यक्रम घोषणा गर्न आयोजित कार्यक्रममा नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा, नेकपा अध्यक्ष ऋषी कट्टेल, बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल सहभागी थिए । कार्यक्रममा  नेकपा विप्लवका केन्द्रीय सदस्य चिरन पुनले कार्यक्रम संचालन गर्दै  विज्ञप्ति मार्फत बिरोध कार्यक्रम सार्वजनिक गरेका छ्न  ।

घोषित कार्यक्रम अनुसार राजनीतिक सभाहरु कार्तिक २४ गते काठमाडौं, बुटवल र इटहरीमा २६ गते, पोखरामा २८ गते र सुर्खेत र धनगढीमा ३० गते, त्यस्तै विरोध प्रदर्शन र कोणसभा कार्तिक २६-३० गतेसम्म र देशव्यापी जिल्ला र स्थानीय स्तरमा आवस्यकता र आफ्नो सापेक्षतामा अन्य कार्यक्रम संचालन गरिने जानकारी गराएका छन ।

पत्रकार सम्मेलनमा बोल्दै बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतिले देश र जनता विरोधी व्यक्ति तथा दलहरुको उपयोगीताको लागि निर्वाचनको नौटंकी गरिने भएकोले निर्वाचन खारेज तथा बहिस्कार गर्नुपर्ने बताएका छन । त्यस्तै नेकपाका अध्यक्ष ऋषी कट्टेलले सत्ता पक्षले निर्वाचन बहिस्कार गर्ने समुहहरुको विरुद्ध धम्कीको भाषा प्रयोग गरि आफुहरुलाई राज्य विरोधी देखाउन खोजेको बताउदै आफुहरुले वर्तमान संविधान, सत्ता र निर्वाचनपछी बन्ने सत्तालाई आफुहरुले नमान्ने  बताएका  छन ।

संसदवादी विसर्जनवादको अन्त्यको लागि कम्युनिस्ट आन्दोलनलाई एकढिक्का बनाएर समाजवादी व्यवस्था स्थापना गर्नको लागि आफुहरुले मोर्चाबन्दी गरेको समेत अध्यक्ष कट्टेलले बताए। मोर्चाको प्रमुख घटक नेकपा विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले नेपालको क्रान्तिकारी आन्दोलनमा विध्यमान राज्यव्यवस्थाको विरुद्ध तीन कम्युनिस्ट पार्टीले संयुक्त रुपमा गरेको आन्दोलनको घोषणाले नयाँ आयम थप गरेको र यसले नयाँ आशा जगाएको बताउदै संसदीय व्यवस्थाले श्रमजीवी जनताको प्रतिनिधित्व गर्न नसकेको, नेपाली जनताको अधिकार स्थापित गर्नको लागि राज्यव्यवस्था विरुद्ध आन्दोलन गर्नुपरेको बताए।