रौतहटमा ट्र्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा प्रहरी जवानको मृत्यु भएको छ।

स्थानीय फतुवा विजयपुर नगरपालिका वडा नम्बर ११ राङ्गी टोलस्थित दुधिअवा–बालचनपुर सडकखण्डमा बिहीबार साँझ करिब ६ः३० बजे ट्र्याक्टर र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा प्रहरी जवान सुभाष चौधरीको ज्यान गएको छ भने उनकी श्रीमती निशा खड्का गम्भीर घाइते भएकी छन्।

बिहीबार साँझ करिब ६ः३० बजेको समयमा दुधिअवाबाट बालचनपुर तर्फ जाँदै गरेको ना.२ त ४७८६ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो।

गुजरा नगरपालिका वडा नम्बर ४ पोखरभिण्डाका ३५ वर्षीय चौधरी बाराको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत थिए।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि वीरगन्ज स्थित बयोधा अस्पताल लगिएकोमा चिकित्सकले राति उनलाई मृत घोषणा गरेका थिए।

मोटरसाइकलको पछाडि सवार उनकी ३० वर्षीया श्रीमती निशा खड्काको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

ट्र्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी वसन्त गौतमले बताए।