नेपाली क्रिकेटको उत्सवका रूपमा स्थापित नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले सुरुवाती चरणमै एउटा सुखद सन्देश दिएको छ । नेपाली खेलाडी अब विदेशी स्टारसँगै मैदानमा उत्रिने मात्र होइन, उनीहरूलाई चुनौती दिँदै खेलको नतिजासमेत आफ्नो पक्षमा पार्न सक्षम छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा ख्याति कमाएका विदेशी खेलाडीको उपस्थितिले प्रतियोगिताको आकर्षण बढिरहेका बेला मैदानमा भने नेपाली खेलाडीले आफ्नो क्षमता देखाइरहेका छन् । ब्याटिङमा छक्का–चौकाको वर्षा होस् वा बलिङमा विपक्षीको विकेट झार्ने प्रतिस्पर्धा, दुवैमा नेपाली खेलाडीको प्रदर्शन प्रभावशाली देखिएको छ ।
प्रतियोगिताका सुरुवाती छ खेलले यसको बलियो उदाहरण प्रस्तुत गरेका छन् । अहिलेसम्म सम्पन्न सबै छ खेलमा ‘प्लेयर अफ द म्याच’ नेपाली खेलाडी नै घोषित भएका छन् । पहिलो खेलमा शेर मल्ल, दोस्रोमा कमलसिंह ऐरी, तेस्रोमा युनिश विक्रम सिंह ठकुरी, चौथोमा दीपेन्द्रसिंह ऐरी, पाचौँमा राहुल यादव र छैटौँमा सोमपाल कामीले यो पुरस्कार जितेका छन् ।
पहिलो तीन खेलमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत पुरस्कार हात पारे भने त्यसपछि ब्याटिङ र अलराउन्ड प्रदर्शनबाट पनि नेपाली खेलाडीले आफ्नो प्रभाव जमाए । यसले एनपीएलमा नेपाली खेलाडी केवल विदेशी खेलाडीको अनुभवबाट सिक्ने भूमिकामा मात्र नभई खेलको दिशा बदल्न सक्ने क्षमतासहित प्रतिस्पर्धा गरिरहेको देखाएको छ ।
यो सुरुवाती प्रदर्शनले नेपाली क्रिकेटको विकासक्रममा देखिएको परिवर्तनलाई समेत संकेत गर्छ । केही वर्षअघिसम्म अन्तर्राष्ट्रिय स्तरका खेलाडीविरुद्ध मैदानमा उत्रिनु नै नेपाली खेलाडीका लागि ठूलो अवसर मानिन्थ्यो । अहिले भने उनीहरू त्यस्ता खेलाडीलाई चुनौती दिँदै व्यक्तिगत प्रदर्शन र टोलीको जितमा निर्णायक भूमिका निर्वाह गरिरहेका छन् ।
बलिङमा नेपालीको दबदबा, ब्याटिङमा पनि विदेशीलाई चुनौती
प्रतियोगिताको पहिलो खेलमै लुम्बिनी लायन्सका शेर मल्लले आफ्नो क्षमता प्रमाणित गरे । सुदूरपश्चिम रोयल्सविरुद्ध चार ओभरमा ११ रन मात्रै खर्चेर तीन विकेट लिएका उनले विपक्षी टोलीलाई ८७ रनमै समेट्न महत्त्वपूर्ण भूमिका खेले । उनको कसिलो बलिङकै कारण लुम्बिनीले सहज जित निकाल्यो ।
दोस्रो खेलमा चितवन राइनोजका कमलसिंह ऐरीले विराटनगर किङ्सविरुद्ध चार विकेट लिए । चार ओभरमा २६ रन खर्चिएका उनले इनिङ्सको अन्त्यतिर लगातार विकेट निकाल्दै खेल चितवनको पक्षमा मोडे । चितवन आठ रनले विजयी भयो ।
तेस्रो खेलमा कर्णाली याक्सका युनिश विक्रम सिंह ठकुरीले जनकपुर बोल्ट्सविरुद्ध चार ओभरमा २२ रन दिएर तीन विकेट लिए । उनको प्रभावशाली बलिङका कारण जनकपुर ११३ रनमै सीमित भयो । कर्णालीले १९ रनको जित निकाल्यो ।
चौथो खेलमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले ब्याटिङ र बलिङ दुवैबाट प्रभाव जमाए । पोखरा एभेन्जर्सविरुद्ध ३६ बलमा अविजित ५१ रन बनाएका उनले बलिङमा एक विकेटसमेत लिए । उनको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमले १४६ रनको लक्ष्य पछ्याउँदै ६ विकेटको जित निकाल्यो ।
पाँचौँ खेलमा जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले काठमाडौं गोर्खाजविरुद्ध चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए । उनको बलिङमा काठमाडौं ११५ रनमै समेटियो । जनकपुरले आठ विकेटको सहज जित निकाल्यो ।
छैटौँ खेलमा भने कर्णाली याक्सका कप्तान सोमपाल कामीले अविस्मरणीय प्रदर्शन गरे । विराटनगर किङ्सविरुद्ध बलिङमा चार विकेट लिएका उनले ब्याटिङमा ३२ बलमा अविजित ६२ रन बनाए । कर्णालीले १८७ रनको लक्ष्य एक बल बाँकी छँदा चार विकेटले जित्यो । ५७ रनमा पाँच विकेट गुमाएर संकटमा परेको कर्णालीलाई सोमपालले एक्लैजस्तै सम्हाल्दै जितसम्म पुर्याए ।
उनले विराटनगरका लोकेश बम, एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाजस्ता प्रभावशाली खेलाडीलाई बलिङबाट पवेलियन फर्काएका थिए । बलिङमा चार विकेट र ब्याटिङमा विस्फोटक अर्धशतक बनाएका सोमपालको प्रदर्शनले नेपाली खेलाडीको बहुआयामिक क्षमता देखाएको छ ।
ब्याटिङमा लोकेश बमको विस्फोट
बलिङमा नेपाली खेलाडीको वर्चस्व देखिँदा ब्याटिङमा पनि उनीहरू विदेशी खेलाडीभन्दा पछाडि छैनन् । प्रतियोगिताका सुरुवाती छ खेलपछि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा विराटनगर किङ्सका लोकेश बम शीर्षस्थानमा छन् ।
कर्णाली याक्सविरुद्ध उनले ५२ बलमा ८७ रन बनाएका थिए । उनको इनिङ्समा तीन चौका र नौ छक्का समावेश थिए । सुरुवातमा विकेट गुमाएर दबाबमा परेको विराटनगरलाई उनले आक्रामक ब्याटिङमार्फत १८६ रनको प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याएका थिए ।
व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गरे पनि विराटनगरले उक्त खेल जित्न सकेन । कर्णालीले सोमपाल कामीको अविजित ६२ रनको मद्दतमा लक्ष्य पूरा गर्यो । एउटै खेलमा लोकेशको आक्रामक ब्याटिङ र सोमपालको अलराउन्ड प्रदर्शन देखिनुले एनपीएलमा नेपाली खेलाडीको प्रतिस्पर्धात्मक क्षमता झल्काएको छ ।
सर्वाधिक रन बनाउने सूचीमा लोकेशपछि सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी छन् । उनले दुई खेलमा ७८ रन बनाएका छन् । जनकपुरका विदेशी खेलाडी मोइन अली ७७ रनसहित तेस्रो स्थानमा रहँदा कर्णालीका अरिफुल इस्लाम ७५ र पवन सर्राफ ७३ रनसहित शीर्ष पाँचमा छन् ।
सुरुवाती छ खेलमा बनेका पाँच अर्धशतकमध्ये तीन नेपाली खेलाडीले बनाएका छन् । चितवन राइनोजका डेभिड मलानले ५० बलमा ७० रन बनाउँदै प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गरेका थिए । त्यसपछि सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी, जनकपुरका मोइन अली, विराटनगरका लोकेश बम र कर्णालीका सोमपाल कामीले अर्धशतक बनाए ।
एकै खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान लोकेशकै नाममा छ । उनले दुई खेलमै १० छक्का प्रहार गरिसकेका छन् । यसले नेपाली ब्याटरमा विकसित हुँदै गएको आक्रामक टी–२० शैलीलाई पनि उजागर गर्छ ।
१६ वर्षीय राहुल यादवको उदय
एनपीएलको सुरुवाती चरणमा नेपाली क्रिकेटका लागि अर्को उत्साहजनक पक्ष युवा प्रतिभाको उदय हो । जनकपुर बोल्ट्सका १६ वर्षीय बलर राहुल यादवले छोटो समयमै आफ्नो प्रभाव स्थापित गरेका छन् ।
ट्यालेन्ट हन्टबाट छनोट भएका राहुलले प्रतियोगिताका पहिलो छ खेलपछि सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा ६ विकेटसहित शीर्षस्थान ओगटेका छन् । काठमाडौं गोर्खाजविरुद्ध चार विकेट लिएर उनले आफ्नो बलिङ क्षमता प्रमाणित गरेका थिए ।
उनको अर्को विशेषता दुवै खेलमा पहिलो बलमै विकेट लिनु हो । विदेशी खेलाडीसमेत सम्मिलित अनुभवी ब्याटिङ लाइनअपविरुद्ध कम उमेरमै यस्तो प्रदर्शन गर्नु नेपाली क्रिकेटका लागि सुखद संकेत हो ।
सर्वाधिक विकेट लिने सूचीमा राहुलपछि कर्णालीका सोमपाल कामी र सुदूरपश्चिमका अनिल खरेल पाँच–पाँच विकेटसहित छन् । जनकपुरकै हरमीत सिंह र लुम्बिनीका किशोर महतोले चार–चार विकेट लिएका छन् । यस सूचीमा पनि नेपाली बलरको उपस्थिति बलियो देखिन्छ ।
विदेशी स्टारको उपस्थिति, नेपाली खेलाडीको आत्मविश्वास
यस संस्करणको एनपीएलमा डेभिड वार्नर, मोइन अली, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र डेभिड मिलरजस्ता अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी आबद्ध छन् । विश्व क्रिकेटमा स्थापित यी खेलाडीको उपस्थितिले प्रतियोगिताको स्तर, आकर्षण र अन्तर्राष्ट्रिय पहिचान बढाएको छ ।
तर विदेशी खेलाडीको नाम र अनुभवले मात्रै मैदानमा वर्चस्व कायम हुँदैन भन्ने सन्देश सुरुवाती खेलले दिएका छन् । महँगो मूल्यमा अनुबन्ध गरिएका विदेशी खेलाडीका बीच नेपाली खेलाडीले पनि उत्तिकै आत्मविश्वासका साथ प्रतिस्पर्धा गरिरहेका छन् ।
एनपीएलको सुरुवाती छ खेलमा सबै ‘प्लेयर अफ द म्याच’ नेपाली खेलाडी हुनु यसैको उदाहरण हो । यद्यपि प्रतियोगिता प्रारम्भिक चरणमै रहेकाले यही प्रदर्शनका आधारमा समग्र प्रतियोगिताको निष्कर्ष निकाल्न हतार हुनेछ । आगामी खेलमा पनि नेपाली खेलाडीले आफ्नो लय कायम राख्नुपर्ने चुनौती छ ।
नेपाली क्रिकेटको उदाउँदो आत्मविश्वास
एनपीएलमा नेपाली खेलाडीले देखाएको प्रदर्शनलाई प्रतियोगिताको व्यक्तिगत उपलब्धिमा मात्र सीमित गरेर हेर्न मिल्दैन । यसले पछिल्लो समय नेपाली क्रिकेटले तय गरेको यात्रालाई पनि प्रतिबिम्बित गर्छ ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिचान बनाउन थालेसँगै घरेलु क्रिकेटको प्रतिस्पर्धात्मक स्तर पनि विस्तार हुँदै गएको छ । राष्ट्रिय टोलीका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको अनुभव, घरेलु प्रतियोगितामा बढेको प्रतिस्पर्धा, युवा खेलाडीको आगमन र फ्रेन्चाइज क्रिकेटको अवसरले नेपाली क्रिकेटलाई नयाँ उचाइतर्फ लैजाने आधार तयार पारेका छन् ।
नेपाली क्रिकेटले विश्वकपसम्मको यात्रा तय गर्नु, अन्तर्राष्ट्रिय क्रिकेटमा ठूला टोलीसँग प्रतिस्पर्धा गर्नु र विश्वभरका क्रिकेटप्रेमीको ध्यान आकर्षित गर्न सक्नु यस यात्राका महत्त्वपूर्ण उपलब्धि हुन् । त्यसमा एनपीएलले घरेलु प्रतिभालाई व्यावसायिक वातावरणमा आफ्नो क्षमता देखाउने थप मञ्च प्रदान गरेको छ ।
एनपीएलको अर्को महत्त्वपूर्ण पक्ष भनेको नेपाली खेलाडीले विश्वस्तरका क्रिकेटरसँग एउटै टोलीमा खेल्ने, उनीहरूको अनुभवबाट सिक्ने र मैदानमै आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पाउनु हो । विदेशी खेलाडीको उपस्थितिले नेपाली खेलाडीमाथि प्रतिस्पर्धाको दबाब पनि बढाउँछ । तर त्यही दबाबलाई अवसरमा बदल्न सक्नु नै खेलाडीको वास्तविक परीक्षा हो ।
सुरुवाती खेलमा शेर मल्ल, कमलसिंह ऐरी, युनिश विक्रम सिंह ठकुरी, दीपेन्द्रसिंह ऐरी, राहुल यादव, सोमपाल कामी र लोकेश बमले देखाएको प्रदर्शनले नेपाली क्रिकेटमा प्रतिभाको कमी नरहेको सन्देश दिएको छ । अझ १६ वर्षीय राहुलदेखि अनुभवी सोमपालसम्मका खेलाडीले देखाएको क्षमताले नेपाली क्रिकेटको पुस्तान्तरण र भविष्यप्रतिको आशा पनि जगाएको छ ।
अब चुनौती यही प्रदर्शनलाई निरन्तरता दिनु हो । एनपीएलमा नेपाली खेलाडीले देखाएको चमक प्रतियोगिताभर कायम रहन सके त्यसले उनीहरूको व्यक्तिगत पहिचान मात्र बढाउने छैन, विदेशी फ्रेन्चाइज लिगमा खेल्ने अवसरका ढोकासमेत खोल्न सक्छ ।
विदेशी स्टारको आगमनले एनपीएललाई अन्तर्राष्ट्रिय आकर्षण दिएको छ । तर प्रतियोगिताको वास्तविक सफलता नेपाली खेलाडीको क्षमता अभिवृद्धि, व्यावसायिक विकास र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा पनि निर्भर गर्छ । अहिले मैदानमा देखिएको नेपाली खेलाडीको आत्मविश्वासले नेपाली क्रिकेट अब सम्भावनाको चर्चा मात्र होइन, मैदानमा नतिजा देखाउन थालेको प्रतिस्पर्धात्मक शक्ति पनि हो भन्ने पुष्टि नै गर्न थालेको छ ।

प्रतिक्रिया