नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी खेलमा चितवन राइनोजले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याइरहेको विराटनगर किंग्सले ११ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ८७ रन बनाएको छ।
जितका लागि विराटनगरलाई अब अन्तिम ५४ बलमा ७१ रनको आवश्यकता छ। टोलीको हालको रनरेट ७.९० रहेको छ भने आवश्यक रनरेट प्रतिओभर ७.८८ छ।
क्रिजमा बसिर अहमद ११ बलमा १ चौकासहित १२ रन बनाएर खेलिरहेका छन् भने नयाँ ब्याट्सम्यानका रूपमा एन्जेलो म्याथ्युज आएका छन्। विराटनगरका विस्फोटक ब्याट्सम्यान आन्द्रे रसेल क्रिजमा आउन बाँकी नै छ।
विराटनगरले ११औं ओभरको पाँचौं बलमा सेट भइसकेका ओपनर इमरान शेखलाई तेस्रो विकेटका रूपमा गुमाएको हो। उनले ३१ बल खेल्दै ४ चौका र २ छक्काको मद्दतमा ३९ रनको महत्त्वपूर्ण योगदान दिए। उनलाई मौसम ढकालको बलमा विवेक यादवले क्याच आउट गराए।
यसअघि विराटनगरले ८ रन बनाएका चरिथ असालंकालाई ७.५ ओभरमा ६५ रनको स्कोर हुँदा ड्यान मौस्लेको बलमा एलबीडब्लूका रूपमा गुमाएको थियो। ओपनर लोकेश बम भने १४ बलमा २६ रन बनाएर ४.३ ओभरमा ४० रनको कुल स्कोर हुँदा रञ्जित कुमारको बलमा आउट भएका थिए।
चितवनका लागि बलिङतर्फ रञ्जित कुमारले अत्यन्तै किफायती बलिङ गर्दै ३ ओभरमा १० रन दिएर १ विकेट लिए।
त्यस्तै, मौसम ढकालले १ ओभरमा ७ रन दिएर १ विकेट र ड्यान मौस्लेले ३ ओभरमा २९ रन खर्चिएर १ विकेट हात पारेका छन्। रिजन ढकालले २ ओभरमा २२ र टम टेलरले २ ओभरमा १८ रन दिएका छन्।
यसअघि त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो।

प्रतिक्रिया