जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्ष २०८३/८४ को तीन महिना अवधिमा तीन थान वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले प्रशासन कार्यालयको त्रैमासिक प्रगति विवरण प्रस्तुत गर्दै चालु आवको तीन महिनाको अवधिमा गैरआवासीय नेपाली नागरिकता जारी नभएको जानकारी दिए। प्रजिअ दाहालका अनुसार आव २०८२/८३ मा वैवाहिक अंगीकृत नागरिकता ९ थान र गैरआवासीय नेपाली नागरिकता ८ थान जारी भएका थिए।

प्रशासन कार्यालयले तीन महिनामा कार्यालय प्रयोजनमा प्रयोग हुने २ हजार ८११ थान विभिन्न किसिमका कागजातको प्रतिलिपि निःशुल्क उपलब्ध गराएको समेत जनाएको छ। अघिल्लो आवभरिमा प्रशासन कार्यालयले ९ हजार २५ थान यस्ता प्रकृतिका कागजातको प्रतिलिपि सेवाग्राहीलाई निःशुल्क रूपमा दिएको थियो।

प्रशासन कार्यालयका अनुसार तीन महिनाको अवधिमा २० जनालाई नेपाल–तिब्बत यात्रा अनुमति सिफारिस प्रदान गरिएको छ भने ३१ जनाले उक्त प्रकृतिको अनुमतिपत्र नवीकरण गरेका छन्। तीन महिनामा १० जनालाई नाबालक परिचयपत्र प्रदान गरिएको छ भने १२ जनाले तिब्बती शरणार्थी परिचयपत्र नवीकरण गरेका समेत प्रशासन कार्यालयले जनाएको छ।

तीन महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिनेभन्दा प्रतिलिपि बनाउने बढी देखिएका छन्। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार वंशजका आधारमा ६ सय ७० थान नयाँ नागरिकता जारी हुँदा ६ सय ८८ जनाले नागरिकताको प्रतिलिपि लिएका छन्।

तीन महिनाको अवधिमा राहदानीतर्फ ५ सय ३ जनाको साधारण र २० जनाको द्रुत सिफारिस गरिएको छ। तीन महिनामा ४ सय थान राहदानी वितरण गरिएको छ भने उक्त अवधिमै प्रशासन कार्यालयमा प्राप्त भएका ३ सय ३६ थान राहदानी वितरणको प्रक्रियामा रहेको समेत प्रशासन कार्यालयले जानकारी दिएको छ।

अघिल्लो आवमा २ हजार २ सय जनाको राहदानीको अनलाइन फारम निःशुल्क रूपमा भरिदिएको प्रशासन कार्यालयले चालु आवको तीन महिनामा ४ सय ९९ जनालाई यस्तो सेवा प्रदान गरेको समेत जनाएको छ।

प्रशासन कार्यालयका अनुसार तीन महिनामा प्रशासन कार्यालयमा भ्रष्टाचारसम्बन्धी एक थान मुद्दा दर्ता भएको छ भने अभद्र व्यवहारका ७ दर्ता मुद्दामध्ये ५ वटा मुद्दालाई किनारा लगाइएको समेत प्रशासन कार्यालयले जनाएको छ।