नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नयाँ दिल्लीमा दिएको ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्ति गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान एवं राष्ट्रिय हितमा आँच पुर्‍याउने खालको भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। ज्ञवालीले विदेशी भूमि कुनै पनि सरकारी पदाधिकारीका लागि आफ्नो मुलुकको आन्तरिक राजनीतिक मतभिन्नताबारे बोल्ने थलो नभएको बताएका छन्।

नेपालमा कहिल्यै ‘भारतविरोधी राष्ट्रवादको युग’ नरहेको उल्लेख गर्दै उनले नेपालले सधैँ सार्वभौम समानता, पारस्परिक हित र सम्मानमा आधारित मित्रतापूर्ण सम्बन्ध चाहेको बताएका छन्। कुनै व्यक्ति वा समूह विशेषको दृष्टिकोणलाई समग्र राष्ट्रको प्रतिनिधित्व गर्ने विचारका रूपमा लिन नसकिने उनको भनाइ छ।

‘अर्थमन्त्रीले कुन युगको कुरा गर्नुभएको हो?’ प्रश्न गर्दै ज्ञवालीले नेपाल र भारतबीच रहेका विभिन्न समस्याबारे खुलस्त छलफल हुनुपर्ने बताएका छन्।

उनले दुई देशबीचको सीमा समस्या, सन् १९५० को सन्धिका कतिपय प्रावधान, नेपाली उत्पादनलाई भारतीय बजारमा प्रवेश गर्न हुने कठिनाइ, बढ्दो व्यापार घाटा, सीमामा बनाइएका एकतर्फी बाँधका कारण नेपाली भूमि डुबानमा पर्ने समस्या तथा नेपालले पाउनुपर्ने वैकल्पिक हवाई प्रवेश मार्गका विषयमा भारतको आनाकानीलाई प्रमुख समस्याका रूपमा औँल्याएका छन्।

घनिष्ठ छिमेकी मित्रसँग यस्ता विषयमा स्पष्ट छलफल हुनुपर्ने उल्लेख गर्दै ज्ञवालीले समस्यालाई लुकाएर सम्बन्ध बलियो बनाउन नसकिने बताएका छन्।

यी विषय उठाउनु कुनै देशविशेषको विरोध नभई नेपालको राष्ट्रिय हितको प्रश्न भएको उनको भनाइ छ। हरेक सरकारको दायित्व राष्ट्रिय हितको रक्षा गर्नु रहेको उल्लेख गर्दै उनले त्यसका लागि बलियो राष्ट्रिय एकता, सहमति र गम्भीर कूटनीतिक पहल आवश्यक रहेको बताएका छन्।

यथार्थलाई ढाकछोप गरेर अपनाइने तुष्टीकरणको नीतिले राष्ट्रिय हित र स्वाभिमान बलियो नबनाउने, बरु त्यसमा आँच पुर्‍याउने ज्ञवालीको भनाइ छ।