नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ।

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आजदेखि नै आंशिक बदली हुने तथा बुधबारदेखि वर्षा र हिमपातको सम्भावना छ।

“आगामी शुक्रबारसम्म देशका विभिन्न भूभागमा मौसममा बदली हुने तथा वर्षा र हिमपातको पनि सम्भावना छ, आज हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ,” उनले भने, “आज राति कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।”

महाशाखाका अनुसार मङ्गलबार कोशी, मधेस, बागमती र गण्डकीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। उक्त अवधिमा कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

बुधबारदेखि शुक्रबारसम्म पनि देशका हिमाली तथा पहाडी भूभागमा बदली रहने र केही स्थानमा वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

बुधबार कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

बिहीबार र शुक्रबार पनि विभिन्न प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले मौसमसम्बन्धी पूर्वानुमानलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ। वर्षा तथा हिमपातका कारण दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई मौसमको अवस्था बुझेर आवश्यक तयारी गर्न महाशाखाले अनुरोध गरेको छ।