खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३, आहालेमा धारिलो हतियार प्रहारबाट श्रीमतीसहित चार जना घाइते भएका छन्।
आफ्नै ससुरालीमा पुगेका स्थानीय ४३ वर्षीय नइन्द्र कुमार राईले धारिलो हतियार प्रहार गर्दा चार जना घाइते भएका हुन्।
प्रहरीका अनुसार घाइते हुनेमा ४० वर्षीया अञ्जना राई, ६२ वर्षीया स्यामाउन राई, नरेन्द्र राई र २५ वर्षीया तेनिना राई रहेका छन्।
घटनामा अञ्जनाको टाउकोको पछाडिको भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको छ। त्यस्तै, स्यामाउनको टाउको र दाहिने हातमा चोट लागेको छ। उनको अवस्था पनि गम्भीर रहेको छ। तेनिनाको टाउकोमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको छ।
नरेन्द्रको दाहिने हातमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको छ। घाइते चारै जनालाई उपचारका लागि नगर अस्पताल दुर्छिम लगिएको छ। उनीहरूको त्यहीँ उपचार भइरहेको छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा राईलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया