नोबेल शान्ति पुरस्कार विजेता तथा भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडो महिनौंको निर्वासनपछि आइतबार स्वदेश फर्किएकी छन्।
देशको लोकतान्त्रिक भविष्य र नयाँ चुनावको मितिबारे अन्योल कायम रहेका बेला उनको पुनरागमन भएको हो।
जनवरीमा अमेरिकी सेनाले तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेर अमेरिकामा लगेपछि माचाडो पहिलो पटक सार्वजनिक रूपमा भेनेजुएलामा देखिएकी हुन्। मादुरो हटेपछि डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएकी छन्। तर नयाँ राष्ट्रपति चुनावको मिति अझै घोषणा गरिएको छैन।
माचाडोले सामाजिक सञ्जालमा ‘म यहाँ छु। तपाईंसँगै।’ भन्दै आफ्नो आगमनबारे जानकारी दिएकी छन्। उनी आइतबार लारा राज्यको एउटा चर्च पुग्दा समर्थकले ताली बजाएर स्वागत गरेका थिए। त्यसपछि उनी राजधानी काराकासतर्फ लागेकी थिइन्। बाटोमा उनलाई भेट्न र स्वागत गर्न ठुलो संख्यामा समर्थक भेला भएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माचाडोको भेनेजुएला फिर्तीबारे आफूलाई केही जानकारी नभएको बताएका छन्। उनले भने, ‘मलाई यसबारे केही थाहा छैन। तर उनी निकै राम्री महिला हुन् भन्ने लाग्छ। उनले मलाई आफ्नो नोबेल पुरस्कार दिएकी थिइन्। त्यसैले म अरू के भन्न सक्छु र? उनी सुरक्षित रहून् भन्ने आशा गर्छु। उनी निकै राम्री महिला हुन्। तर हामी भेनेजुएलामा निकै राम्रो गरिरहेका छौं।’
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने माचाडोको सुरक्षित फिर्तीलाई अमेरिकाको समर्थनमा भइरहेको राजनीतिक वार्ताको परिणाम बताए। अमेरिकी अधिकारीहरूले भेनेजुएलामा चुनावअघि अर्थतन्त्र स्थिर बनाउने र निर्वाचन प्रणालीसहितका संस्थामा सुधार गर्नुपर्ने बताउँदै आएका छन्।
माचाडोले सन् २०२४ को राष्ट्रपति चुनावमा मादुरोलाई चुनौती दिने तयारी गरेकी थिइन्। तर सरकारले उनलाई उम्मेदवार बन्न रोक लगाएपछि विपक्षी नेता एडमन्डो गोन्जालेज चुनावमा सहभागी भएका थिए। विपक्षीले सार्वजनिक गरेका मतपरिणामसम्बन्धी विवरणले गोन्जालेजले मादुरोलाई ठुलो मतान्तरले हराएको देखाएका थिए। तर मादुरो नेतृत्वको सरकारले आफूलाई विजेता घोषणा गरेको थियो।
चुनावपछि विपक्षीमाथि धरपकड र मानवअधिकार उल्लंघन भएको आरोप लागेको थियो। माचाडो पनि लामो समय देशभित्रै लुकेर बसेपछि डिसेम्बरमा नर्वे पुगेकी थिइन्, जहाँ उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
माचाडो र उनका सहयोगीले नयाँ राष्ट्रपति चुनावको मिति घोषणा गर्न माग गर्दै आएका छन्। तर मादुरो हटेपछि पनि सत्ता सञ्चालनमा पुरानै राजनीतिक समूहको प्रभाव कायम रहेको भन्दै विपक्षीले प्रश्न उठाएका छन्। माचाडोको स्वदेश फिर्तीले चुनावको बाटो खुल्छ वा खुल्दैन भन्ने विषय भने अझै अनिश्चित छ।

प्रतिक्रिया