फ्रान्समा महँगी, विद्यालयको दयनीय अवस्था र प्रहरीको कठोर व्यवहारविरुद्ध शनिबार लाखौँ मानिस सडकमा उत्रिएका छन्। राजधानी पेरिससहित विभिन्न सहरमा प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गरेका छन्।
पेरिसमा प्रदर्शनको अन्त्यतिर प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो। फ्रान्सको गृह मन्त्रालयका अनुसार देशभरबाट करिब एक हजार ३०० जना पक्राउ परेका छन्।
सरकारी तथ्याङ्कअनुसार प्रदर्शनमा करिब चार लाख मानिस सहभागी भएका थिए। तर, ट्रेड युनियनहरूले भने आठ लाख मानिस सहभागी भएको दाबी गरेका छन्।
सरकारी अनुमानअनुसार पेरिसमा मात्रै करिब एक लाख १० हजार मानिसले प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले महँगी, सरकारको प्रहरी व्यवस्थापन र विद्यालयमा आवश्यक सुविधाको अभावविरुद्ध आवाज उठाएका थिए।
उनीहरूको हातमा ‘दमनले विद्रोह जन्माउँछ’ र ‘प्रदर्शन गर्नु हाम्रो अधिकार हो’ लेखिएका ब्यानर थिए।
सुरुमा प्रदर्शन शान्तिपूर्ण थियो। प्रदर्शनमा विद्यार्थी, अभिभावक र वृद्धवृद्धासमेत सहभागी भएका थिए। तर, र्यालीको अन्त्यतिर केही नकाबधारी व्यक्तिहरूले प्रहरीमाथि ढुङ्गा र सिसाका बोतल प्रहार गरेका थिए। केही स्थानमा फोहोर फाल्ने डब्बामा आगो लगाइएको थियो भने प्रहरीतर्फ पटाका पनि फ्याँकिएको थियो।
त्यसपछि प्रहरीले अश्रुग्यास, पानीको फोहोरा प्रहार गर्ने गाडी (वाटर क्यानन) र स्टन ग्रिनेड प्रयोग गरेको थियो। प्रहरीले प्रदर्शनकारीको भीडमाथि लाठीचार्जसमेत गरेको थियो।
पेरिसबाहेक लियोन, लिली, मोन्टपेलियर, नान्त र टुलुजमा पनि प्रदर्शन भएका थिए। ती सहरमा प्रदर्शनकारीलाई मुख्य क्षेत्रमा पुग्न रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। मार्सेईमा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।
समाचार विवरणअनुसार क्लेरमोन–फेराँ र टुलुजमा कम्तीमा दुई जना गम्भीर घाइते भएका छन्। टुलुजमा प्रहरीको विस्फोटक हतियारका कारण एक व्यक्तिका औँला काटिएको खबर छ।
हिंसात्मक घटना हुन सक्ने आशङ्कामा फ्रान्सका विभिन्न सहरमा ७० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको थियो। सुरक्षाका लागि विभिन्न पसलका अगाडि काठका फल्याक राखिएको थियो भने केही सङ्ग्रहालयसमेत बन्द गरिएका थिए।
फ्रान्समा यो आन्दोलन सेप्टेम्बरमा माध्यमिक तहका विद्यार्थीहरूको प्रदर्शनबाट सुरु भएको थियो। विद्यार्थीहरूले विद्यालयमा शिक्षकको अभाव, जीर्ण भवन, छतबाट पानी चुहिने समस्या र भीडभाड भएका कक्षाकोठामा पर्याप्त कुर्सी नहुँदाको अवस्थाविरुद्ध प्रदर्शन गरेका थिए।
क्रमशः शिक्षक, अभिभावक र ट्रेड युनियनहरू पनि आन्दोलनमा सहभागी भए। प्रदर्शनकारीहरूले विद्यालयको अवस्था सुधार गर्नुपर्ने मागसँगै महँगी र सरकारको कठोर प्रहरी व्यवस्थापनको विषय पनि उठाएका छन्।
प्रदर्शनकारीहरूको आरोप छ कि सरकारले उनीहरूका मागबारे वार्ता गर्नुको सट्टा प्रहरी परिचालन गरेर आन्दोलन दबाउने प्रयास गरिरहेको छ। प्रहरीका विस्फोटक हतियारका कारण केही विद्यार्थी तथा प्रदर्शनकारी घाइते भएका घटनाबारे पनि अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया