शिक्षकको क्षमता विकासका लागि सरकारले चार वर्षमा दुई अर्ब ६७ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ तर शैक्षिक गुणस्तर परीक्षण केन्द्रको राष्ट्रिय उपलब्धि परीक्षण (नासा) को नतिजाले विद्यालय तहका विद्यार्थीको सिकाइ अवस्था कमजोर रहेको देखाएको छ।

कक्षा ५ का ७८ प्रतिशत विद्यार्थी गणितमा न्यूनतम सिकाइ उपलब्धिको तहभन्दा तल छन्। कक्षा १० मा गणितमा ६० प्रतिशत, विज्ञानमा ५०.१ प्रतिशत र नेपालीमा ५३.८ प्रतिशत विद्यार्थी न्यूनतम दक्षताको तहमा पुग्न सकेका छैनन्।

शिक्षकको क्षमता विकासमा राज्यले गरेको लगानी र विद्यार्थीको सिकाइ उपलब्धिबिच देखिएको यो अन्तरले शैक्षिक कार्यक्रमको प्रभावकारिता र सार्वजनिक खर्चको प्रतिफलमाथि गम्भीर प्रश्न उठेको छ। शिक्षाको गुणस्तर सुधार्न शिक्षकको भूमिका निर्णायक हुन्छ।

पाठ्यक्रम जतिसुकै राम्रो भए पनि त्यसलाई विद्यार्थीले बुझ्ने गरी कक्षाकोठामा प्रस्तुत गर्न सकिएन भने अपेक्षित उपलब्धि हासिल हुँदैन। त्यसैले शिक्षकको पेसागत क्षमता विकासमा लगानी गर्नु आवश्यक छ तर तालिम सञ्चालन गर्नु, शिक्षकलाई प्रमाणपत्र दिनु र बजेट खर्च गर्नु नै शैक्षिक सुधारको उपलब्धि होइन। तालिमले शिक्षकको शिक्षण शैलीमा कस्तो परिवर्तन ल्यायो र त्यसबाट विद्यार्थीको पढाइ, लेखाइ तथा सिपमा कति सुधार भयो भन्ने आधारमा त्यसको प्रभावकारिता मापन हुनुपर्छ।

सरकारी विद्यालयका ९९ प्रतिशत शिक्षक तालिमप्राप्त रहेको तथ्यांक हुँदाहुँदै पनि विद्यार्थीको सिकाइ उपलब्धि कमजोर हुन पुगेको छ। त्यसले तालिमको स्वरूप र कार्यान्वयनमाथि पुनर्विचार गर्नुपर्ने देखिन्छ। शिक्षकलाई तालिम दिनु र तालिमबाट सिकेको सिप कक्षाकोठामा प्रयोग गराउनु फरक कुरा हुन्।

तालिममा सिकेका विधि व्यवहारमा उतारिएनन् भने त्यसमा गरिएको खर्चको अपेक्षित प्रतिफल प्राप्त हुँदैन। शिक्षकको पेसागत विकासलाई विद्यार्थीको सिकाइसँग नजोडेसम्म तालिम शैक्षिक सुधारको प्रभावकारी माध्यम बन्न सक्दैन।

विद्यार्थीले आधारभूत सिप हासिल गर्न नसक्नुको कारण पहिचान नगरी थप तालिम र कार्यक्रम सञ्चालन गर्नुले समस्याको समाधान गर्दैन। विशेषगरी कक्षा ५ मै गणितको आधारभूत सिकाइ कमजोर हुनु चिन्ताजनक छ।

प्रारम्भिक तहमा सिकाइको जग कमजोर हुँदा माथिल्ला कक्षामा विषयवस्तु बुझ्न कठिन हुन्छ। कक्षा १० सम्म पुग्दा पनि गणित र नेपालीमा आधाभन्दा बढी विद्यार्थी न्यूनतम दक्षताको तहभन्दा तल रहनु विद्यालय शिक्षाको समग्र प्रभावकारितामाथि प्रश्न हो।

यसको अर्थ शिक्षक तालिमको आवश्यकता छैन भन्ने होइन। बरु कस्तो तालिम आवश्यक छ, कसलाई आवश्यक छ र त्यसबाट कक्षाकोठामा कस्तो परिवर्तन अपेक्षित छ भन्ने स्पष्ट हुनुपर्छ। एउटै प्रकृतिको तालिम सबै शिक्षकलाई उपलब्ध गराउनुको सट्टा विषय, तह, स्थानीय आवश्यकता र शिक्षकको वास्तविक क्षमताका आधारमा तालिमको व्यवस्था गरिनुपर्छ।

विद्यार्थीको सिकाइमा देखिएका कमजोरी पहिचान गरेर त्यसअनुसार शिक्षकलाई व्यावहारिक प्रशिक्षण दिनुपर्छ। शिक्षा मन्त्रालयले तालिमबाट विद्यार्थीको सिकाइमा आएको परिवर्तन मापन गर्ने विश्वसनीय प्रणाली विकास गर्नुपर्छ। तालिमअघि र पछिको शिक्षण अभ्यास, विद्यार्थीको सिकाइ उपलब्धि तथा कमजोर विद्यार्थीलाई उपलब्ध गराइएको थप सहयोगको मूल्यांकन गरिनुपर्छ। त्यसका लागि विद्यालय, स्थानीय तह, प्रदेशस्थित शिक्षा तालिम केन्द्र र मन्त्रालयबिच जिम्मेवारी स्पष्ट हुनुपर्छ।

राष्ट्रिय उपलब्धि परीक्षणका नतिजालाई प्रतिवेदनमा सीमित राख्नु हुँदैन। कुन विषयमा, कुन तहमा र कुन समूहका विद्यार्थी कमजोर छन् भन्ने तथ्यका आधारमा सुधारका कार्यक्रम तय गर्नुपर्छ। विद्यार्थीको सिकाइ नियमित रूपमा परीक्षण गर्ने, कमजोर विद्यार्थीलाई अतिरिक्त सहयोग दिने र विद्यालयको प्रगतिलाई मापनयोग्य सूचकसँग जोड्ने व्यवस्था आवश्यक छ। तथ्यांकको वैज्ञानिक विश्लेषणबिना सुधार भएको वा नभएको निष्कर्ष निकाल्नु उचित हुँदैन।

शिक्षामा गरिएको खर्चको सफलता भवन, तालिम र कार्यक्रमको संख्याले होइन, विद्यार्थीले कति पढ्न, लेख्न र गणितीय समस्या समाधान गर्न सके भन्ने गर्छ र हुनुपर्छ। शिक्षक तालिममा भएको लगानीको प्रतिफल खोज्नु शिक्षकलाई दोषी ठहर गर्नु होइन। तालिमको उद्देश्य पूरा भएको छ कि छैन भनेर राज्यले आफैंलाई प्रश्न गर्नु हो। शिक्षकलाई आवश्यक स्रोत, उपयुक्त प्रशिक्षण र सहयोग उपलब्ध गराउनु सरकारको दायित्व हो भने त्यसबाट प्राप्त उपलब्धिको नियमित मूल्यांकन गर्नु पनि सरकारकै जिम्मेवारी हो।

शिक्षक तालिममा खर्च भएको अर्बौं रुपैयाँले विद्यार्थीको सिकाइमा अपेक्षित सुधार ल्याउन सकेन भने कार्यक्रमको संरचना र कार्यान्वयन बदल्नुपर्छ। अब थप बजेट विनियोजन गर्नुअघि विद्यमान कार्यक्रमको प्रभावकारिता परीक्षण गर्ने, कमजोरी सच्याउने र उपलब्धिको सार्वजनिक लेखाजोखा गर्नु आवश्यक छ। अन्यथा, तालिम चलिरहने तर विद्यार्थीको सिकाइ कमजोर बन्दैजानु विडम्बना हुन जान्छ। त्यसतर्फ सरोकारवाला सबैको ध्यान जानु जरुरी छ।