असार १९, काठमाडौं-  तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूबीच लामो समयपछि भेटवार्ता भएको छ ।

हत्तिवनस्थित सिटि स्केप हाउजिङ्गमा आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र माओवादीका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो । यी सबै नेता तत्कालीन नेकपाको सचिवालयमा बहुमुत संख्यामा थिए । यस अघि नेकपा एकता अभियानका संयोजक बामदेव गौतमले एमाले अध्यक्ष के. पि. शर्मा ओलि, नेकपा एस का अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संग छुट्टाछुट्टै भेट गरेका थिए ।

आजको भेटमा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन आदि विषयमा छलफल भएको छ । छलफललाई निरन्तरता दिने समझदारी भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।