अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले पेनलाई ‘रूढीवादी आवाज’ भन्दै प्रशंसा गरेका छन्।
तर सन् २०२७ मा हुने फ्रान्सको राष्ट्रपति निर्वाचनमा उनलाई समर्थन गर्ने वा नगर्नेबारे स्पष्ट धारणा दिएनन्।
भ्रष्टाचारको अभियोगमा सन् २०२५ मार्चमा दोषी ठहर भएकी ले पेनलाई सुरुमा पाँच वर्षसम्म निर्वाचनमा उम्मेदवार बन्न प्रतिबन्ध लगाइएको थियो। तर यस वर्ष पुनरावेदन अदालतको निर्णयपछि उनलाई आगामी राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको छ।
ले पेनमाथि अन्याय भएको जस्तो लागेको ट्रम्पले बताएका छन्। फ्रान्सको अशान्तिबारे उनले भने, ‘त्यो सामान्य दंगा वा विरोध प्रदर्शन थिएन, क्रान्तिजस्तै थियो र अझै जारी छ।’
यसैबिच, फ्रान्सका विभिन्न सहरमा भएका दंगाले पर्यटन क्षेत्रमा असर पार्ने चिन्ता बढाएको छ। प्रहरीसँगको झडप, आगजनी र लुटपाटका दृश्य विश्वभर फैलिएपछि पर्यटकले फ्रान्सको सुरक्षाबारे प्रश्न उठाएका छन्। कतिपयले यात्रा रद्द गर्ने वा स्थगित गर्ने सोच बनाएका छन्।
परामर्श तथा अनुसन्धान संस्था ‘प्रोटुरिजम’का प्रमुख डिडियर अरिनोका अनुसार पेरिस, लियोन र मार्सेमा होटल बुकिङ रद्द हुने क्रम बढेको छ। पेरिसको केन्द्रमा भएको एक दिनको दंगापछि बुकिङ रद्द हुने दरमा करिब एक प्रतिशतले वृद्धि भएको उनले बताए। हिंसा लामो समयसम्म जारी रहे पर्यटन क्षेत्रमा गम्भीर असर पर्न सक्ने व्यवसायीहरूको भनाइ छ।
फ्रान्सले वार्षिक करिब १० करोड पर्यटकलाई स्वागत गर्दै पर्यटनबाट ७० अर्ब युरोभन्दा बढी आम्दानी गर्छ। अमेरिका, चीन र जर्मनीलगायतका देशले आफ्ना नागरिकका लागि यात्रा सल्लाह जारी गरेपछि होटल बुकिङमा थप दबाब परेको छ।
‘एमकेजी कन्सल्टिङ’का अनुसार अक्टोबर २० देखि २९ सम्मको बसाइका लागि पेरिसका होटलमा बुकिङको अग्रता अघिल्लो वर्षको तुलनामा एक प्रतिशत बिन्दुबाट घटेर शून्य दशमलव दुई प्रतिशत बिन्दुमा झरेको थियो।
पर्यटन व्यवसायीहरूका अनुसार आगामी दिनमा हिंसाको अवस्था कस्तो रहन्छ भन्ने कुराले पर्यटन क्षेत्रको भविष्य निर्धारण गर्नेछ। एजेन्सी

प्रतिक्रिया