अमेरिकाको युटा राज्यमा गाडी चलाउने क्रममा मोबाइलमा अश्लील भिडियो हेरेको आरोप लागेकी ४४ वर्षीया क्रिस्टिन चाओमाथि एक जनाको मृत्यु हुने गरी भएको सडक दुर्घटनामा हत्या अभियोग लगाइएको छ।

गत जुन १२ मा जुआब काउन्टीस्थित अन्तरराज्यीय राजमार्ग १५ (आई-१५) मा निर्माण कार्यका कारण सवारीसाधनको गति सुस्त भएको थियो। त्यही क्रममा चाओले चलाएको एसयूभी अगाडि रहेको सेतो कारमा ठोक्किएको थियो। त्यसपछि उक्त कार अगाडि रहेको अर्को एसयूभीमा ठोक्किएको थियो। दुर्घटनामा तीन वटै गाडी सडकबाट बाहिर पुगेका थिए।

दुर्घटनामा सेतो कारको पछाडिको सिटमा सवार ६६ वर्षीय स्कट लावर लिचफिल्डको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई हेलिकप्टरबाट अस्पताल लगिए पनि पछि मृत्यु भएको थियो।

समाचार संस्था केएसएलका अनुसार अनुसन्धानका क्रममा प्रहरीले चाओको मोबाइल फोन जाँच गर्न अनुमति लिएको थियो। त्यस क्रममा दुर्घटना हुनुभन्दा दुई मिनेटभन्दा कम समयअघि उनले अश्लील सामग्री भएको वेबसाइट खोलेको पाइएको अदालती कागजातमा उल्लेख छ। चाओले दुर्घटनाका लागि आफू जिम्मेवार भएको प्रहरीलाई बताएकी थिइन्। प्रहरीले उनको गाडीको गति घटाएको संकेत गर्ने ब्रेकको चिह्न पनि फेला पारेन।

चाओमाथि सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको घटनामा हत्या अभियोग लगाइएको हो। मृतक लिचफिल्डले दुर्घटनाको अघिल्लो दिन श्रीमती डेबीसँग विवाहको ३९औं वर्षगाँठ मनाएका थिए। उनका पाँच सन्तान र ११ नातिनातिना छन्। उनी परिवारसँग समय बिताउन, नातिनातिनालाई किताब पढेर सुनाउन, चेस खेल्न र लेगो बनाउन मन पराउँथे।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।