बाँकेको जानकी गाउँपालिका-६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सात घर पूर्णरूपमा जलेका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ।

बुधबार दिउँसो २:२० बजे इद्दु खानको घरमा विद्युत् सर्ट भएर आगलागी भएको थियो। प्रहरी, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाको दमकलको सहयोगमा दिउँसो ४ बजे आगो नियन्त्रणमा आएको थियो।

आगलागीबाट साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एकतले कच्ची घर जलेका छन्। त्यस्तै, जाबेद खान, सरनाम खान र सौरभ खानका टिनले छाएका एकतले कच्ची घर पनि पूर्णरूपमा जलेका छन्। महेश खानको पक्की घरको एउटा झ्यालमा क्षति पुगेको छ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। अन्य क्षतिको विवरण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।