नेपाली कल्चरल सेन्टर युकेले बडादशैंको अवसरमा भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। केन्द्रका उपसंयोजक भीमलाल भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा गुरुहरूद्वारा स्वस्तिवाचन गरिएको थियो।
कार्यक्रमका मुख्य वक्ता कथा व्यास पण्डित कुबेर सुवेदीले धर्म, संस्कृति र मातृभूमिप्रतिको मायाले नेपालीलाई जोडेको बताए। जन्मभूमिबाट टाढा भए पनि संस्कार र संस्कृतिबाट टाढा हुन नसकिने उल्लेख गर्दै उनले भने, ‘हामीभित्र रहेका अहंकार र क्रोधलाई पराजित गरेर मात्र असल बन्न सकिन्छ। आफ्ना सन्तानलाई संस्कार र संस्कृतिसँग जोड्नु आजको आवश्यकता हो।’
उनले आगामी एक वर्षभित्र सांस्कृतिक केन्द्र स्थापना गर्ने योजनासहित अगाडि बढ्न शुभकामना व्यक्त गरे।
कार्यक्रममा गुरु चिरञ्जीवी ढकालले विजया दशमीको शुभकामना दिँदै पश्चिम लन्डनवासीका लागि सांस्कृतिक केन्द्र तथा मन्दिर निर्माणको पहल सौभाग्यको विषय भएको बताए। ‘यदि हामीले आज प्रयास गरेनौँ भने भावी पुस्ताले हामीलाई प्रश्न गर्नेछन्,’ उनले भने।
उनले सम्पूर्ण युकेवासी नेपाली समुदायलाई सहयोगका लागि अपिल गरे।
स्कटल्यान्डबाट सहभागी भएका आचार्य श्री माधवशरणले दोस्रो पुस्तालाई संस्कार र संस्कृति हस्तान्तरण गर्न केन्द्रको ठूलो आवश्यकता रहेको बताए। उनले जन्मदेखि मृत्युसम्मका सम्पूर्ण संस्कार गर्न सकिने गरी केन्द्र निर्माण हुनुपर्नेमा जोड दिए।
नेपाली सांस्कृतिक केन्द्र युकेका संरक्षक गुरु निलहरि घिमिरेले धेरैजनाको तन, मन र धनको सहयोगले अभियान सफल हुने विश्वास व्यक्त गरे। जग्गा प्राप्तिको प्रक्रियालाई छिटो मूर्त रूप दिन सके थप सहयोगीहरू अगाडि आउने उनको भनाइ थियो।
केन्द्रका संयोजक चिरन शर्माले हालसम्म ११६ जना संस्थापक सदस्य जोडिएको र एक लाख २२ हजार पाउन्ड सहयोगको प्रतिबद्धता प्राप्त भएको जानकारी दिए। उनका अनुसार मासिक डाइरेक्ट डेबिट वा किस्ताबन्दीमार्फत १ हजार पाउन्डसम्म सहयोग गर्न सकिने व्यवस्था गरिएको छ। यो केवल मन्दिर मात्र नभई सम्पूर्ण समुदायको बृहत् सामाजिक तथा सांस्कृतिक केन्द्र हुने भएकाले सबैबाट निरन्तर सहयोगको अपेक्षा गरिएको उनले बताए।
कार्यक्रममा मोर्गेज सल्लाहकार ऋषि खनालले मन्दिरका लागि भवन तथा जग्गा खरिद गर्न मोर्गेज प्राप्त गर्ने प्रक्रियाबारे प्राविधिक जानकारी गराएका थिए।
कार्यक्रममा संस्थापक सदस्य सीताराम भण्डारी, शम्भु अर्याल, नारायण फुल्याल, पत्रकार दिनेश परियार, डिएन खराल, गोविन्द सापकोटा (मिडल्यान्ड्स), उमेश पुन (कोल्चेस्टर), निरुषा भट्टराई पाण्डे, कल्पना त्रिपाठी, टीका कुमारी राई, कमल कँडेल लगायतले बडादशैंको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमको सुरुमा पण्डित गोविन्द नेपालले स्वस्तिवाचन गरेका थिए।

प्रतिक्रिया