विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधारणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन्।

विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जीवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचार्यले सबैभन्दा पहिला साइतको टीका लगाएकी थिइन्।

त्यसपछि कुमारीको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले साइतको टीका लगाएको यसअघिका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

यसरी नाइके, गुरु, पुरोहितलगायतले टीका लगाएपछि सर्वसाधारणका लागि खुला गरिएको टीका ग्रहणको काम सुरु भएको तलेजुका पूर्वमूल नाइके जोशीले बताए।

एकान्त कुमारी लुनिभाको हातबाट स्थानीय भक्तजन एवं आमसर्वसाधारणले टीका ग्रहण गरेपछि दुर्गा विसर्जनसहित तलेजु भवानीलाई दसैँघरबाट मूलचोक दक्षिण देवगृहमा भित्र्याइएको उनले जानकारी दिए। फूलपातीको दिन तलेजुलाई देवगृहबाट मूलचोकको पश्चिम कुमारी चोकस्थित दसैँघरमा भित्र्याइएको थियो।

राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीहरूले तलेजु भवानीसहित अन्य देवीदेवतालाई विधिपूर्वक आज देवगृहमा भित्र्याएको जोशीले जानकारी दिए। भक्तपुरस्थित तलेजु यात्राका क्रममा १९ जना पुजारीले परम्परागत रूपमा लगाउँदै आएको जामा, पगरी, भोटो, खास्टोसहितको वस्त्र धारण गरी देवीदेवतालाई दसैँघरमा भित्र्याएका हुन्। रासस