राजकुमार ह्यारीले ६ वर्षपछि आफ्नो परिवारसँगको सम्बन्ध सुधारेर मेलमिलाप गर्न चाहेको बताएका छन्।
जीक्यू पत्रिकासँगको अन्तर्वार्तामा उनले विगतका विवाद बिर्सेर अघि बढ्नुपर्ने बताएका हुन्।
सेप्टेम्बरमा न्युयोर्कमा रेकर्ड गरिएको अन्तर्वार्ता मंगलबार सार्वजनिक भएको हो। राजपरिवारसँगको सम्बन्धबारे कुरा गर्दै ह्यारीले भने, ‘केही मानिस यो सम्बन्ध राम्रो भएको चाहँदैनन्। म भने राम्रो होस् भन्ने चाहन्छु।’
उनले संसारमा भइरहेका घटनाका बिच परिवारसँग मेलमिलाप गर्नु महत्त्वपूर्ण रहेको बताए। विगतका घटनाले मनमा चोट पुर्याए पनि तिनलाई बिर्सेर अघि बढ्न सबैले प्रयास गर्नुपर्ने उनको भनाइ छ।
‘विगतका केही कुराले अझै पनि तपाईंलाई हरेक दिन असर गरिरहेका छन् भने तिनलाई छाड्न गाह्रो हुन्छ। तर संसार र मानिसहरूको जीवनमा पहिल्यै पर्याप्त समस्या छन्। परिवारसँगको विवादलाई निरन्तरता दिनु आवश्यक छैन,’ ह्यारीले थप भनेका छन्।
उनका प्रवक्ताले भने उनको भनाइ दाजु राजकुमार विलियम वा परिवारका अन्य सदस्यलाई लक्षित नभएको स्पष्ट पारे। उक्त टिप्पणी सामान्य सन्दर्भमा गरिएको र परिवारका कुनै सदस्यप्रति लक्षित नभएको प्रवक्ताको भनाइ छ।
ह्यारी र उनकी पत्नी मेघनले सन् २०२० मा राजपरिवारका वरिष्ठ सदस्यको भूमिका छाडेर बेलायत र अमेरिकामा समय बिताउने निर्णय गरेका थिए। त्यसपछि उनीहरूको राजपरिवारसँगको सम्बन्धमा दूरी बढ्दै गएको थियो।
सन् २०२१ मा ओप्रा विन्फ्रेसँगको अन्तर्वार्तामा ह्यारी र मेघनले आफ्नो जन्मिन बाँकी छोराको छालाको रङबारे राजपरिवारका एक सदस्यले चिन्ता व्यक्त गरेको आरोप लगाएका थिए। त्यसपछि सार्वजनिक भएको वृत्तचित्रमा ह्यारीले राजपरिवारभित्र अचेतन पूर्वाग्रह रहेको बताएका थिए। उनले सन् २०२३ मा प्रकाशित आफ्नो संस्मरण ‘स्पेयर’ मा पनि राजपरिवारको आलोचना गरेका थिए।
ह्यारी र मेघन अगस्टमा आफ्ना दुई सन्तानसहित बेलायत फर्किएका थिए। ह्यारीले छोराछोरीलाई बेलायती विद्यालयमा पढाउन पाउनु आफूका लागि महत्त्वपूर्ण रहेको बताएका छन्। सन्तानले बेलायतमा नयाँ अनुभव पाइरहेको उनको भनाइ छ।
यसै महिनाको सुरुमा ह्यारी र मेघनले बेलायत फर्किएपछि पहिलो संयुक्त सार्वजनिक कार्यक्रममा सहभागी हुँदै नटिङ्घममा खाद्य अभावविरुद्ध काम गर्ने संस्थाको भ्रमण गरेका थिए। उनीहरूले नजिकैको खाद्य बैंक र गोदाममा पुगेर स्वयंसेवकलाई खाद्य सामग्रीका झोला तयार पार्न सहयोग गरेका थिए।

प्रतिक्रिया