ममता काफ्ले भट्ट बेपत्ता भएको घटनामा उनका श्रीमान् नरेश भट्टको व्यवहार र ममताले विगतमा भोगेको भनिएको दुर्व्यवहारबारे अदालतमा बयान प्रस्तुत गरिएको छ।

बेबीसिटर अमान्डा जिरोन-पेरेज र ममताकी साथी तथा पूर्वसहकर्मी सुनिता थापाले मंगलबार बयान दिएका हुन्।

मानसस पार्कका प्रहरी क्याप्टेन डस्टिन वाकरले सन् २०२४ अगस्ट १२ मा नरेशसँग लिएको अन्तर्वार्ताको भिडियो अदालतमा देखाइएको थियो। ममता अझै जीवित छिन् भन्ने लाग्छ कि भनेर सोध्दा नरेशले ‘हुनुपर्छ’ भनेका थिए। उनले ममता कहाँ छिन् भन्ने थाहा नभएको बताएका थिए। प्रहरीका अनुसार ममता बेपत्ता भएको दुई सातामा नरेशले उनलाई करिब पाँच पटक मात्रै फोन गर्ने प्रयास गरेका थिए। उनले ममताको खोजीबारे प्रहरीसँग चासो नदेखाएको पनि वाकरले बताएका थिए।

ममता सन् २०२४ जुलाईको अन्त्यमा भर्जिनियास्थित घरबाट बेपत्ता भएकी थिइन्। उनी नर्सका रूपमा काम गर्थिन्। जुलाई २९ मा उनले नेपालमा रहेकी आमासँग १४ मिनेट भिडियो कुराकानी गरेकी थिइन्। नरेशका अनुसार जुलाई ३१ मा उनीहरू सामान्य रूपमा सँगै बसेका थिए। तर, भोलिपल्ट ममता काममा गइनन्। अगस्ट २ मा उनका सहकर्मीले घरमा प्रहरी बोलाएर उनको अवस्थाबारे जाँच गराएका थिए। नरेशले ममता यसअघि पनि विवादपछि तीन-चार पटक घर छाडेर गएको प्रहरीलाई बताएका थिए। तर, उनले ममता बेपत्ता भएको तीन दिनपछि मात्रै हराएको व्यक्तिसम्बन्धी उजुरी दिएका थिए।

ममता बेपत्ता भएको महिनादेखि उनकी छोरीको हेरचाह गर्दै आएकी अमान्डा जिरोन-पेरेजले जुलाई ३० देखि अगस्ट १ सम्म नरेशले छोरीलाई आफ्नो अपार्टमेन्टमा ल्याएको बताइन्। उनका अनुसार जुलाई ३० मा नरेशले बिहान ८ बजेपछि बच्चा ल्याउन सकिन्छ कि भनेर सोधेका थिए। तर, उनी बिहान ६:४० बजेअघि नै बच्चा लिएर आइपुगेका थिए। त्यस दिन साँझ छोरी लिन आउँदा नरेशले अनुमति नलिई अपार्टमेन्टभित्र प्रवेश गरेको जिरोन-पेरेजले बताइन्। उनले जुत्ता खोलेर छिटोछिटो अंग्रेजीमा केही बोलेका थिए। स्पेनी दोभाषामार्फत बयान दिएकी जिरोन-पेरेजले उनको कुरा नबुझेको बताइन्।

जिरोन-पेरेजका अनुसार जुलाई ३१ मा पनि नरेश छोरी लिन अपार्टमेन्टभित्र आएका थिए। त्यसबेला उनी चिन्तित देखिएको र झ्यालबाट बाहिर हेर्दै यताउता गरेको उनले बताइन्। ‘मलाई उनीहरूले मेरो गोपनीयतामा हस्तक्षेप गरिरहेको जस्तो लाग्यो। मलाई डर लाग्यो,’ उनले भनिन्।

अगस्ट १ मा नरेशले छोरीलाई फेरि जिरोन-पेरेजको अपार्टमेन्टमा ल्याएका थिए। उनका अनुसार बच्चाले अघिल्ला दिनमा लगाएकै लुगा लगाएकी थिइन्। लुगामा दाग लागेको थियो, कपाल कोरिएको थिएन र उनलाई नुहाइएको पनि थिएन। बच्चाले अघिल्ला दुई दिन खाएकै खाना खाएको जिरोन-पेरेजले बताइन्। ‘बच्चालाई नुहाइएको थिएन,’ उनले बयान दिइन्। उनका अनुसार जुलाई ३० देखि लगातार तीन दिन ममताले छोरीको अवस्थाबारे सोधपुछ गरेकी थिइनन्। अगस्ट १ ममता काममा नगएको पहिलो दिन पनि थियो।

ममताकी साथी तथा इनोभा फेयरफ्याक्स अस्पतालमा उनीसँगै काम गरेकी सुनिता थापाले पनि मंगलबार अदालतमा बयान दिइन्। अभियोजन पक्षले ममताले नरेशबाट दुर्व्यवहार भोगेको दाबी पुष्टि गर्न थापासँग भएका कुराकानी प्रस्तुत गर्न खोजेको थियो। तर, बचाउ पक्षले थापाले प्रत्यक्ष नदेखेका घटनाबारे दिएको विवरणलाई प्रमाणका रूपमा स्वीकार गर्न नमिल्ने भन्दै आपत्ति जनाएको थियो।

अभियोजन पक्षकी सहायक वकिल क्याथरिन विलियम्सका अनुसार सन् २०२४ फेब्रुअरीमा ममताले थापालाई रुँदै फोन गरेकी थिइन् र आफूलाई सहयोग चाहिएको बताएकी थिइन्। ममताले नरेशले आफ्नो कपाल तान्ने र शरीरका संवेदनशील अंग चिमोट्ने गरेको बताएकी थिइन्। विलियम्सले यी विवरणले ममताले लामो समयदेखि दुर्व्यवहार भोगेको देखाउने तर्क गरेकी थिइन्। तर, बचाउ पक्षकी वकिल लरेल रोडवाल्डले थापाले ती घटना प्रत्यक्ष नदेखेकाले उनको भनाइलाई प्रमाणका रूपमा लिन नमिल्ने बताइन्।

थापाले आफूले प्रत्यक्ष देखेको एउटा घटनाबारे पनि बयान दिइन्। उनका अनुसार सन् २०२३ डिसेम्बरमा ममता अनुहारमा नीलडाम लिएर काममा आएकी थिइन्। ‘मैले उनको अनुहारमा नीलडाम देखेँ,’ थापाले भनिन्। चोट कसरी लागेको भनेर सोध्दा ममताले आफू लडेको बताएकी थिइन्। यसअघि मुद्दाको पहिलो साता ममताकी साथी सरिता न्यौपानेले पनि बयान दिएकी थिइन्।

उनका अनुसार सन् २०२४ फेब्रुअरीमा विवादपछि ममता दुई सातासम्म उनीसँग बसेकी थिइन्। त्यसबेला ममताले आफ्नो अनुहारमा लागेको चोटको तस्बिर देखाउँदै नरेशले आफूलाई हिर्काएको बताएकी थिइन्। न्यायाधीश किम्बर्ली इरभिङले थापाको बयानका केही अंश प्रमाणका रूपमा स्वीकार गर्न सकिने भए पनि सबै विवरण स्वीकार्य नहुने बताएकी थिइन्।

मानसस पार्कमा संकलन गरिएको फोहोर फालिने ल्यान्डफिलका पूर्वअधिकारी विलियम हलले प्रहरीले खोजीका लागि ढिलो गरी अनुरोध गरेको अदालतमा बताए। उनका अनुसार सन् २०२४ अगस्टको अन्त्य वा सेप्टेम्बरको सुरुतिर मात्रै प्रहरीले सम्पर्क गरेको थियो। त्यतिबेलासम्म खोज्नुपर्ने फोहोर माटो, रसायन र अन्य फोहोरको २० देखि ३० फिट गहिरो तहमा पुरिएको हुन सक्ने उनले बताए। ‘त्यतिबेला घाँसको थुप्रोमा सियो खोजेजस्तै हुने थियो,’ हलले भने।

हलका अनुसार करिब १८ हजार टन फोहोर हटाएर अर्को ल्यान्डफिलमा लैजान अनुमति लिनुपर्ने थियो। खोजीका लागि आवश्यक क्षेत्र निकाल्न मात्रै १० लाख डलरभन्दा बढी खर्च लाग्न सक्ने र फोहोर सार्दा मिथेन ग्यासका कारण विषाक्तता लगायतका स्वास्थ्य जोखिम हुन सक्ने उनले बताए। सन् २०२४ अक्टोबरमा पठाएको पत्रमा उनले खोजीका चुनौती र जोखिमबारे उल्लेख गरेका थिए।

ममता बेपत्ता भएको घटनामा नरेशलाई सन् २०२४ अगस्टमा पक्राउ गरिएको थियो। उनीमाथि पहिलो तहको हत्या, शव लुकाएको र शव अपवित्र पारेको आरोप लागेको छ। अभियोजन पक्षले नरेशले ममताको हत्या गरी शव उत्तरी भर्जिनियाका विभिन्न फोहोर संकलनस्थलमा फालेको दाबी गरेको छ। नरेशले भने आरोप अस्वीकार गरेका छन्।

अमेरिकाको भर्जिनिया राज्यस्थित प्रिन्स विलियम काउन्टी अदालतमा मुद्दाको सुनुवाइ जारी छ। एक साताभन्दा लामो समयदेखि जुरीको उपस्थितिमा दैनिक सुनुवाइ हुँदै आएको यस मुद्दामा बुधबार पनि नरेश भट्टविरुद्धको सुनुवाइ जारी रहनेछ।