पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल बुधबार ह्याम्स अस्पतालबाट डिस्चार्ज भएका छन्। सचिवालयका अनुसार उनी आज दिउँसो १२ बजे अस्पतालबाट घर फर्किएका हुन्।

सचिवालयले खनालको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र उनी घरमै आराम गरिरहेको जनाएको छ। केही दिन आराम गरेपछि उनी पुनः सार्वजनिक कार्यक्रममा सहभागी हुने जनाइएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका खनालको डा. रोशन राउतको नेतृत्वमा रहेको मेडिकल टोलीले उपचार गरेको थियो। उपचारमा नर्सिङ टोली तथा अन्य स्वास्थ्यकर्मीको पनि सक्रिय सहभागिता रहेको सचिवालयले उल्लेख गरेको छ।

खनालको उपचार अवधिमा स्वास्थ्यप्रति चासो व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्ने पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक, आफन्त तथा सञ्चारमाध्यमप्रति सचिवालयले आभार व्यक्त गरेको छ। साथै उपचारमा संलग्न सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीप्रति विशेष धन्यवाद पनि प्रकट गरिएको छ।

यसैबीच, गत महिना भोटेकोशी र बुढीगण्डकी क्षेत्रमा आएको भीषण बाढीपछि देश शोकमा रहेको अवस्थालाई ध्यानमा राख्दै खनालले यस वर्ष बडादशैँको सार्वजनिक टीका कार्यक्रम नगर्ने निर्णय यसअघि नै सार्वजनिक गरिसकेको सचिवालयले स्मरण गराएको छ।