शरद ऋतुको आगमनसँगै दशैंको मौसम लागेको छ। प्रकृतिले पनि बिस्तारै आफ्नो रूप फेर्दै छ। वनपाखा नयाँ हरियालीले शृङ्गारिएका छन्। बेँसीका फाँटमा धानका बाला हावासँगै लहराइरहेका छन्। आत्मालाई समेत न्यानोपन दिने सुनौला घामका किरण धर्तीभरि पोखिएका छन्। लाग्छ, प्रकृति स्वयं कुनै महान् पर्वको स्वागतमा सजिएर बसेकी छ।

शहरका गल्लीहरूमा किनमेलको चहलपहल बढ्दै जाँदा वर्षभरि काम, जिम्मेवारी र व्यस्तताको भीडमा हराएका गाउँले सङ्गीसाथीहरू आफ्नो थातथलो फर्किन थालेका छन्। कसैको झोलामा नयाँ लुगा छन्, कसैको हातमा आमाबुबाका लागि उपहार त कसैको मनमा वर्षौंपछि भेटिने आफन्तको अनुहार। गाउँ फर्किने यही उमङ्गले बाटो मात्र होइन, गाउँका घरआँगनलाई समेत जीवन्त बनाइरहेको छ।

तर यही उल्लासको अर्को पाटो पनि छ। कुनै समय सन्तानको हाँसोले गुञ्जिने घरहरूमा अहिले आमाबुबाका पाइला मात्र सुनिन्छन्। छोराछोरीका लागि ढोका खुलै राखेर, बाटोतिर नजर लगाउँदै, फोनको घण्टी पर्खंदै दिन कटाइरहेका बा–आमाका आँखामा दशैंको प्रतीक्षा त छ, तर त्यो प्रतीक्षाभित्र कति एक्लोपन लुकेको छ, सायद शहरको भीडले देख्न सक्दैन। गाउँ फर्किनेहरूको लर्को लागिरहँदा पनि कतिपय घरमा दशैं कुर्नेहरू दुई जना मात्र छन्;आमा र बा।

उता गाउँको प्रकृति भने आफ्नै लयमा रमाइरहेकी छ।

हरियाली वनपाखा, बेँसीका खेतमा तरेली परेका सुनौला धानका बाला अनि बिहानको शीतले मोतीझैँ टल्किएका सुन्तलाका दाना गुडुल्किँदै झरिरहेका छन्। यी सबै दृश्यले मनमा एक किसिमको आत्मीय आनन्द भरिदिन्छन्। घर, आँगन र बारीभरि फैलिएको बेलीको सुगन्धले बाल्यकालका सम्झनाहरू ब्युँझाउँछ। गाउँका मोटरेबल बाटोमा गाडीको आवाज सुनिन थालेसँगै शहरबाट फर्किएका आफन्तको परिचित सुगन्ध र आत्मीय सम्बोधनका आवाज पनि गुञ्जिन थाल्छन्। गाउँमा फेरि आफ्नोपन फर्किन थालेको आभास हुन्छ।

सेतो कमेरो र रातो माटोले पोतिएका घरहरू घामको उज्यालोमा झन् टल्किएका छन्। आँगनको डिलमा फुलेका सयपत्री र फूलका पाती आफन्तको स्वागतमा उभिएझैँ लाग्छन्। घरका कुनाकाप्चादेखि आँगनसम्म सरसफाइको रौनक छ। प्रकृति र परम्परा दुवै मिलेर दशैंको आगमनलाई पूर्णता दिन लागिपरेका छन्। गाउँमा शहरबाट फर्किएका आफन्त मात्र थपिएका छैनन्, प्राकृतिक सौन्दर्यले पनि गाउँको शोभा बढाएको छ।

दशैंसँगै भान्सामा मिठामिठा परिकार पकाउने तयारी हुँदै छ। साँझपख परिकारको मीठो सुवास उकालो लाग्दै गल्ली र चौतारीसम्म पुग्छ भने बिहानको चिसोसँगै धुरीको धुवाँ बनेर घरघरमा फैलिन्छ। वर्षौंदेखि थन्किएका दाउराहरू निकालिएका छन्। धुलो झार्दा भुइँभरि पीठोजस्तै धुलो फैलिएको छ। कतै सेलरोटी पकाउन चामल भिजाइँदै छ, कतै पिठो मुछ्ने कुरा चल्दै छ, कतै नयाँ लुगाको चर्चा छ त कतै टीका लगाउन आउने आफन्तको प्रतीक्षा। हरेक घरमा आ–आफ्नै तयारी छ, लाग्छ हरेक मनमा आ–आफ्नै उमङ्ग छ।

गाउँभरि दशैंको रौनक छाउँदै छ र गाउँलेहरूको तयारी पनि लगभग पूरा हुन लागेको देखिन्छ। घर सजिँदै छन्, बाटा सफा गरिँदै छन्, आँगनमा पाइलाहरू थपिँदै छन्। पुराना भेटघाटका कथा फेरि दोहोरिँदै छन्, बाल्यकालका सम्झनाहरू फेरि ताजा हुँदै छन्। लाग्छ, समयले फेरि एकपटक हामीलाई आफ्नै जरासम्म फर्काएर ल्याएको छ।

तर यसपालि मनमा केही फरक अनुभूति भइरहेको छ।

गाउँ उही छ, घर उही छन्, आँगन उही छ, वनपाखा उस्तै छन्। धानका बाला उस्तै गरी झुलिरहेका छन्, सुन्तलामा उस्तै रस भरिएको छ, पाती र फूल उस्तै गरी फुलेका छन्। बदलिएको छ त केवल समयसँगै फेरिएको हाम्रो जीवन, हाम्रा प्राथमिकता र हाम्रा सम्बन्धको निकटता।

कुनै समय दशैं आउनु भनेको सिङ्गो परिवार एउटै छानामुनि भेला हुनु थियो। बा–आमाको वरिपरि छोराछोरीको भीड, दाजुभाइको हाँसो, दिदीबहिनीको रमाइलो अनि आँगनभरि नातिनातिनाको दौडधुप;त्यही त दशैंको वास्तविक रौनक थियो। आज त्यही घरमा सबै कुरा छन्, तर कोही छैनन्। भकारीमा अन्न छ, बारीमा फलफूल छन्, आँगनमा फूल छन्, भान्सामा मिठा परिकारको तयारी छ। केवल ती सबैसँग खुसी साट्ने आफ्ना मान्छेहरूको अभाव खट्किरहेको छ।

सायद त्यसैले यसपालिको दशैंमा प्रकृति पहिलेभन्दा सुन्दर देखिँदै छ, तर मन भने कताकता उदास छ। गाउँले बाटाहरू भरिँदै छन्, तर कतिपय घरका आँगन अझै खाली छन्। मोटरको आवाजले गाउँ ब्युँझिएको छ, तर केही बा–आमाका मनमा भने सन्तानको पाइला सुन्ने प्रतीक्षा अझै बाँकी छ।

दशैं आखिर नयाँ लुगा, मिठो भोजन र टीका–जमराको पर्व मात्र त होइन। यो त फर्केर आउने बहाना हो;आफ्नो गाउँमा, आफ्नै घरमा, आफ्नै मान्छेहरूका बीचमा फर्किने बहाना। यो बा–आमाको हातबाट निधारमा खुसीको टीका थाप्ने, उनीहरूका थाकेका हात समात्ने र ‘हामी आयौँ’ भनेर उनीहरूको प्रतीक्षालाई पूर्ण बनाइदिने अवसर पनि हो।

चाडपर्वमा गाउँ फर्किनेहरू नयाँ लुगा र आफन्तको माया मात्र लिएर फर्किंदैनन्। उनीहरू आफूसँगै शहरका अनुभव, राजनीतिक विचार र बहस पनि गाउँसम्म ल्याउँछन्। गाउँको पुरानो चौतारीको छहारीमा गाउँले र शहरबाट फर्किएकाहरू गफिँदा राजनीति पनि जोडिन्छ। देशमा आएको राजनीतिक परिवर्तन, त्यसको प्रक्रिया र वर्तमान सरकारको कामकारबाहीबारे गाउँघरमा पनि बहस हुन थालेको छ।

तर देशको राजनीतिमा आएको परिवर्तनप्रति गाउँलेहरू त्यति सन्तुष्ट देखिँदैनन्। परिवर्तनको प्रक्रियाप्रति उनीहरूका आफ्नै असन्तुष्टि छन्। जनताको तहबाट राजनीतिक परिवर्तन गर्न अपनाइएको तरिका र अहिले सरकार सञ्चालन भइरहेको शैलीप्रति उनीहरूका प्रश्न छन्।

चौतारीमा चलिरहेको यो बहसले एउटा कुरा स्पष्ट पार्छ;राजनीतिक परिवर्तन हुनु मात्र पर्याप्त हुँदैन, त्यसप्रति जनताको विश्वास र अपनत्व पनि उत्तिकै आवश्यक हुन्छ। जनताले खोजेको परिवर्तनले उनीहरूको जीवनमा सकारात्मक अनुभूति दिन सक्नुपर्छ। जनताको अपेक्षा र राज्यको कामबीच दूरी बढ्दै गए परिवर्तनप्रतिको उत्साह पनि कमजोर हुन सक्छ।

सौहार्दपूर्ण यस्तो बहस गाउँका लागि दशैंको अर्को रौनक हो। गाउँको वास्तविक सौन्दर्य वनपाखा, धानका बाला र रातो माटोमा मात्र छैन; सुखदुःखका अनुभूति बाँड्ने चौतारीको बहस, भेटघाट र घरको ढोकामा सन्तानको बाटो हेरेर बसेका बा–आमाको मुस्कानमा पनि छ।

बा–आमाका धमिला आँखा, मुस्कुराउँदा देखिने टुटेका दाँत, दुब्लाएको शरीर र चाउरिएको अनुहारमा अझै परदेशी सन्तानको प्रतीक्षा छ। मनमा एउटै प्रश्न छ;मेरो परदेशी छोरा कहिले आउँछ? कतै थाहै नपाई हाम्रो अन्तिम भेट भइसकेको त होइन?

घरका दलिन र ढोकाले पनि बा–आमाका यस्ता प्रश्न कति रातदेखि सुनिरहेका छन्, तर उत्तर कसैसँग छैन। औषधि र उपचारले शरीरलाई त सन्चो बनाउन सक्ला, तर आमाको मन खुसी बनाउन र बुढेसकालमा साथ दिन तिनै सन्तान चाहिन्छन्, जसको प्रतीक्षामा उनीहरूका दिन बितिरहेका छन्।

प्रिय परदेशीजन, अब त बा–आमाको पुकार सुन। घर फर्केर आऊ। तिम्रो बाटो हेर्दाहेर्दै बा–आमाको प्रतीक्षा कहिल्यै नटुङ्गियोस्।

दशैंमा गाउँ फर्किनु भनेको एउटा ठाउँमा फर्किनु मात्र होइन। आफूलाई जन्म दिने मायाको न्यानोपन, हुर्काउने सम्झना र आफ्नो अस्तित्वको जरासम्म फर्किनु पनि हो। परदेशबाट होस् वा शहरबाट, यसपालि गाउँ जाँदा प्रकृतिको सुन्दरता मात्र नहेर्नू, आँगनमा बसेर बाटो हेरिरहेका बा–आमाका आँखाहरू पनि पढ्नू। किनकि कतिपय घरमा दशैंका लागि अरू केही चाहिएको छैन, केवल आफ्ना सन्तानको साथ, केही पलको आत्मीयता र मनैदेखि निस्किएको एउटा वाक्य चाहिएको छ; “आमाबा, हामी आयौँ!”

लेखक लामिछाने, स्याङ्जा फेदीखोला–३, कराम्दीका बासिन्दा हुन् । हाल भानुभक्त आवासीय माध्यमिक विद्यालय, पोखराका प्राचार्य ।