कतारले होर्मुजको जलमार्गमा समुद्रमुनि बिछ्याइएका इन्टरनेट केबलमा अवरोध आए इरानसहित खाडी क्षेत्रका देश बढी प्रभावित हुने चेतावनी दिएको छ।
कतारले जलमार्गलाई लक्षित गरी भइरहेका आक्रमण र धम्की तत्काल रोक्न पनि आग्रह गरेको छ। कतारको विदेश मन्त्रालयका सञ्चार विभागका निर्देशक इब्राहिम अल हाशमीले मंगलबार साप्ताहिक प्रेस ब्रिफिङमा समुद्रमुनिका केबलमा अवरोध भए त्यसको ठुलो असर क्षेत्रका देशले भोग्नुपर्ने बताएका हुन्।
‘सबैभन्दा बढी असर कसलाई पर्छ भनेर इमानदारीपूर्वक सोच्ने हो भने यसको जवाफ स्पष्ट छ। अमेरिका वा इजरायलभन्दा इरानसहित क्षेत्रका देश बढी प्रभावित हुनेछन्,’ उनले भने।
इरानका सुरक्षा प्रमुख मोहसेन रेजाइले अमेरिकासँग फेरि युद्ध भए क्षेत्रभरिका इन्टरनेट केबल, डेटा सेन्टर र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी पूर्वाधारमा आक्रमण हुन सक्ने चेतावनी दिएका थिए। त्यसपछि कतारको यस्तो भनाइ आएको हो।
अल हाशमीका अनुसार होर्मुजको जलमार्गको पानी क्षेत्रका देशमा सिंचाइ, नुन उत्पादन र माछापालनका लागि महत्त्वपूर्ण छ। जलक्षेत्रमा क्षति पुगे पानीको सुरक्षासमेत जोखिममा पर्न सक्छ।
‘होर्मुजको जलमार्गमा पानीको सुरक्षा हाम्रो क्षेत्र र जनताको पानी सुरक्षासँग अभिन्न रूपमा जोडिएको छ,’ उनले भने। हाशमीले अन्तर्राष्ट्रिय कानुनअनुसार जलमार्गमा आवतजावतको स्वतन्त्रता कायम राख्न र समुद्री वातावरण संरक्षण गर्न पनि आग्रह गरे।
उनले अमेरिका र इरानबिचको तनाव समाधान गर्न कतारले मध्यस्थता जारी राख्ने पनि बताए। सैन्य कारबाहीभन्दा वार्तामार्फत शान्तिपूर्ण समाधान खोज्नु नै क्षेत्रीय स्थिरता जोगाउने उपाय भएको उनको भनाइ थियो।

प्रतिक्रिया