नेपालीहरूको महान् चाड बडादशैं सुरु भएसँगै गाउँघरमा दशैंको रौनक छाएको छ । बजारमा किनमेल गर्ने, नयाँ लुगा लगाउने, मीठोमसिनो खाने, घरआँगन सफा गर्ने र मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने परम्पराले दशैंलाई उल्लासमय बनाउने गर्छ । कुनै समय दशैंको आगमनसँगै गाउँघरमा रातो माटो, कमेरो र खोटोको खोजी पनि उत्तिकै चल्थ्यो । घरका भित्ता रातो माटो र कमेरोले पोत्ने, झ्याल ढोकामा खोटो लगाउने र घरलाई चिटिक्क पार्ने चलन दशैंको तयारीकै अभिन्न हिस्सा थियो तर समयसँगै घर निर्माणको शैली फेरिएको छ । सिमेन्ट र आधुनिक रङको प्रयोग बढ्दै जाँदा परम्परागत रूपमा घर पोत्ने चलन भने क्रमशः हराउँदै गएको छ ।
कुनै समय दशैं आउनुअघि धनकुटाका गाउँबस्तीमा रातो माटो र कमेरो खोज्ने चटारो हुन्थ्यो । घर पोत्न मिल्ने चिम्टिया माटो र रातो माटो पाइने ठाउँमा सर्वसाधारणको बाक्लो उपस्थिति देखिन्थ्यो । घरका भित्ता सफा गरेर माटोले पोत्ने, आवश्यक ठाउँमा कमेरो लगाउने र झ्यालढोका खोटोले रङ्गाउने काम घरपरिवारका सदस्य मिलेर गर्थे । दशैंको स्वागत गर्न घरलाई नयाँ रूप दिने यो परम्पराले घरको सरसफाइ र सौन्दर्यसँगै चाडपर्वको उत्साह पनि बढाउँथ्यो ।
केही वर्षअघिसम्म दशैं आउन लाग्दा घर पोत्ने माटो लिन जानेहरूको चहलपहल निकै हुने गरेको धनकुटा नगरपालिका–२ का हरिबहादुर बस्नेतले बताउनुभयो । चिम्टिया माटो र रातो माटो पाइने ठाउँमा सर्वसाधारणको भीड लाग्ने गरेको सम्झना ताजै रहेको उहाँको भनाइ छ । माटोले लिपपोत गरेपछि घर सफा, सुन्दर र चिटिक्क देखिने गरेको उहाँले बताउनुभयो तर अहिले त्यस्तो दृश्य कमै देख्न पाइन्छ । गाउँघरमा समेत सिमेन्टको प्रयोग बढेको छ । परम्परागत ढुङ्गा, माटो र काठ प्रयोग गरेर बनाइने घरको ठाउँमा पक्की घर बन्न थालेका छन् । घरको बाहिरी तथा भित्री भित्तामा सिमेन्टको प्लास्टर गरेर विभिन्न प्रकारका आधुनिक रङ लगाउने चलन बढेको छ । यससँगै रातो माटो, कमेरो र खोटोको प्रयोग पनि घट्दै गएको उहाँले बताउनुभयो ।
घरको बनावट परिवर्तन हुनु मात्र नभई मानिसको जीवनशैलीमा आएको परिवर्तनले पनि परम्परागत लिपपोतको चलनलाई प्रभावित बनाएको छ । पहिले घर पोत्ने कामलाई दशैंको तयारीकै रूपमा लिइन्थ्यो । घरका भित्ता पोत्ने, आँगन सफा गर्ने र झ्यालढोका चिटिक्क पार्ने काममा परिवारका सदस्य जुट्थे । अहिले भने बजारमा पाइने रङ र अन्य निर्माण सामग्रीको प्रयोगबाट छोटो समयमा घर सजाउने प्रवृत्ति बढेको छ । यसले परम्परागत सीप र त्यससँग जोडिएको सामूहिक अभ्यासलाई क्रमशः विस्थापित गर्दै लगेको छ ।
परम्परागत नेपाली घरको सौन्दर्यमा रातो माटो र कमेरोको विशेष स्थान थियो । माटोले बनेका घरका भित्ता पोत्दा घर सफा र आकर्षक देखिन्थे । रातो माटोले भित्तामा राताम्मेपन ल्याउँथ्यो भने कमेरोले सेतो रङ प्रदान गथ्र्यो । घरको बनावट र परिवारको रुचिअनुसार यी सामग्री प्रयोग गरिन्थे । यी सामग्री प्रयोग गर्नुको उद्देश्य घर सजाउनु मात्र थिएन, घरलाई व्यवस्थित र सफा राख्नु पनि थियो । दशैंअघि घरको सरसफाइ गर्ने र भित्तामा नयाँ लिपपोत गर्ने चलनले चाडपर्वका लागि घरलाई तयार पार्ने काम गथ्र्यो । घर पोत्ने काममा परिवारका सदस्यसँगै छिमेकी र आफन्तको सहयोगसमेत लिने चलन कतिपय ठाउँमा थियो । यसरी एउटा घरको लिपपोतसँगै सामाजिक सम्बन्ध र आपसी सहयोगको अभ्यास पनि जोडिएको हुन्थ्यो ।
परम्परागत घर निर्माणमा स्थानीय स्तरमै उपलब्ध हुने माटो, ढुङ्गा, काठ र अन्य सामग्रीको प्रयोग गरिन्थ्यो । घरको निर्माण शैलीअनुसार लिपपोतका सामग्री छनोट गरिन्थे । स्थानीय स्रोतसाधनको उपयोग गरेर घरलाई सुन्दर बनाउने यो अभ्यास पुस्तौँदेखि चल्दै आएको थियो तर आधुनिक निर्माण सामग्रीको सहज उपलब्धता र पक्की घरप्रतिको आकर्षण बढेसँगै यस्तो अभ्यासको निरन्तरता कमजोर बन्दै गएको छ ।
रातो माटो र कमेरोले भित्ता पोत्ने चलनसँगै काठका झ्याल ढोकामा खोटो लगाउने परम्परा पनि उत्तिकै महत्वपूर्ण थियो । विशेषगरी सालको रुखको छिप्पिएको लोप्रा ताछेर पानीमा पकाई कालो रङको खोटो तयार पार्ने गरिन्थ्यो । यसरी तयार पारिएको खोटो काठका झ्याल ढोका र आवश्यक भागमा लगाउने चलन थियो । धनकुटा नगरपालिका–२ का मोहन थापाका अनुसार सालको लोप्राबाट बनाइएको खोटो वर्षमा एक पटक झ्याल ढोकामा लगाएपछि धमिराले काठ खानबाट जोगिने र धुल्याहा नलाग्ने विश्वास गरिन्थ्यो । यसले झ्याल ढोकालाई कालो रङ दिनुका साथै काठको संरक्षणमा समेत सहयोग गर्ने उहाँको भनाइ छ ।
अहिले भने काठमा लगाउने आधुनिक रङ, वार्निस तथा अन्य रासायनिक पदार्थको प्रयोग बढेको छ । घरको बनावट र प्रयोग गरिने सामग्रीमा आएको परिवर्तनसँगै परम्परागत रूपमा खोटो तयार पार्ने र लगाउने सीप पनि हराउँदै गएको छ । पहिले घरपरिवारकै ज्ञान र अनुभवका आधारमा तयार पारिने यस्ता सामग्री अहिलेको पुस्ताका लागि अपरिचित बन्दै गएका छन् । खोटो बनाउने प्रक्रियामा स्थानीय वन स्रोतको पहिचान, काठका विभिन्न भागको उपयोग र परम्परागत अनुभव जोडिएको थियो । सालको लोप्रा ताछ्ने, त्यसलाई पकाउने र प्रयोगयोग्य बनाउने ज्ञान पुस्तान्तरण हुँदै आएको थियो । अहिले यसको प्रयोग घट्दै जाँदा यस्तो सीपको संरक्षण नै हुन सकेको छैन ।
दशैंसँग जोडिएको संस्कार र सामूहिक अभ्यास
दशैं नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो । यस अवसरमा घर सफा गर्ने, लिपपोत गर्ने, घरआँगन सजाउने र आफन्तसँग भेटघाट गर्ने परम्परा लामो समयदेखि चल्दै आएको छ । विशेषगरी ग्रामीण क्षेत्रमा घर पोत्ने काम दशैंको आगमनसँग जोडिएको सांस्कृतिक अभ्यासका रूपमा स्थापित थियो ।
घरको लिपपोत गर्दा भित्तामा नयाँ रङ थपिने मात्र होइन, घरमा चाडपर्व आएको अनुभूति पनि हुन्थ्यो । घरका सदस्य मिलेर काम गर्ने, आवश्यक माटो खोज्न जाने र सामग्री तयार पार्ने प्रक्रियाले दशैंको तयारीलाई सामूहिक गतिविधिका रूपमा अघि बढाउँथ्यो । घर पोतिसकेपछि सफा र चिटिक्क देखिएको घरमा दशैं मनाउने उत्साह अझ बढ्ने गरेको पुरानो पुस्ताको अनुभव छ । धनकुटाका ७१ वर्षीय मोहन थापाका अनुसार विगतमा रातो माटो, खोटो र कमेरोले घरको लिपपोत गर्नु दशैंतिहारसँग जोडिएको संस्कृतिको अर्को पाटोजस्तै बनेको थियो । तर, आधुनिकतासँगै पुराना प्रचलन हराउँदै जाँदा अहिलेको पुस्तालाई यस्ता परम्परा र सामग्रीका विषयमा जानकारीसमेत कम हुँदै गएको उहाँको भनाइ छ ।
आधुनिकतासँगै बदलियो घरको स्वरूप
समय परिवर्तनसँगै मानिसको बसोबास गर्ने शैली र घर निर्माणका सामग्रीमा पनि परिवर्तन आएको छ । पहिले ढुङ्गा, माटो र काठबाट घर बनाउने चलन बढी थियो । यस्ता घरको भित्ता पोत्न रातो माटो र कमेरो प्रयोग गरिन्थ्यो भने काठका झ्याल ढोकामा खोटो लगाइन्थ्यो । स्थानीय स्तरमा उपलब्ध सामग्री प्रयोग गर्दा घरको निर्माण र मर्मतसम्भारमा समुदायको परम्परागत ज्ञानको उपयोग हुन्थ्यो । अहिले सिमेन्ट, इँटा, रड र अन्य आधुनिक निर्माण सामग्रीको प्रयोग बढेको छ । पक्की घर निर्माण गर्ने क्रमसँगै घरको बाहिरी तथा भित्री भागमा आधुनिक रङ लगाउने चलन व्यापक बनेको छ । बजारमा विभिन्न रङ र सजावटका सामग्री सहजै उपलब्ध हुन थालेपछि माटो र कमेरो खोज्नुपर्ने आवश्यकता पनि धेरै परिवारमा घटेको छ ।
आधुनिक निर्माण सामग्रीको प्रयोगले घरलाई टिकाउ र व्यवस्थित बनाउने अवसर दिएको भए पनि पुराना सीप र स्थानीय सामग्रीको उपयोगसम्बन्धी ज्ञान भने संरक्षणको चुनौतीमा परेको छ । नयाँ पुस्ताले आधुनिक घर निर्माणको शैलीसँग परिचित हुँदै जाँदा पुर्खाले प्रयोग गर्ने माटो, कमेरो र खोटोका विशेषता बुझ्ने अवसर कम पाउन थालेका छन् । ईश्वर थापा / रासस

प्रतिक्रिया