सिंगापुरको चर्चित र्याफल्स होटलमा विवाह समारोहका क्रममा नगद राखिएको बाकस चोरी गरेको आरोपमा ३८ वर्षीय एक व्यक्ति पक्राउ परेका छन्।
बाकसमा करिब एक हजार ५०० सिंगापुर डलर (नेपाली रुपैयाँ एक लाख ७८ हजार) रहेको बताइएको छ।
प्रहरीका अनुसार गत शनिबार बीच रोडस्थित र्याफल्स होटलको पाम बलरूममा आयोजित विवाह समारोहबाट उक्त बाकस चोरी भएको थियो। सिंगापुरका नागरिक ली यी वेईमाथि साँझ करिब ७:३० बजे बाकस चोरेको आरोप लागेको छ।
प्रहरीले घटनाबारे जानकारी पाएपछि अनुसन्धान अघि बढाएको थियो। प्रत्यक्ष सोधपुछ र सिसिटिभी फुटेजको सहायताले आरोपितको पहिचान गरिएको प्रहरीले जनाएको छ। उनलाई आइतबार नै पक्राउ गरिएको थियो।
प्रहरीले विवाह समारोह तथा भीडभाड हुने स्थानमा आफ्ना बहुमूल्य सामान सुरक्षित राख्न सर्वसाधारणलाई आग्रह गरेको छ।
लीलाई अनुसन्धान पूरा गर्न हिरासतमा राखिएको छ। उनी आगामी महिना फेरि अदालतमा उपस्थित हुनेछन्। चोरीको आरोपमा दोषी ठहरिएमा उनलाई सात वर्षसम्मको जेल सजाय र जरिवाना हुन सक्छ।

प्रतिक्रिया