उत्तर कोरियाली नेता किम जोङ-उनको मृत्यु भएको हल्ला फैलिएपछि सरकारी सञ्चारमाध्यमले उनका नयाँ तस्बिर सार्वजनिक गरेको छ।

ती तस्बिरमा किम आफ्नी छोरी जु-ए र पत्नी रि सोल-जुसँग प्योङयाङमा आयोजित कपडा तथा जुत्ता प्रदर्शनीको भ्रमण गरिरहेको देखिएका छन्।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार किमले सोमबार प्रदर्शनीको अवलोकन गरेका थिए। मंगलबार सार्वजनिक गरिएका तस्बिरमा उनले प्रदर्शनीमा राखिएका कपडा तथा जुत्ताको निरीक्षण गरेको देखिन्छ।

यसअघि सामाजिक सञ्जालमा किमलाई मस्तिष्कमा गम्भीर रक्तस्राव भएको, उनी कोमामा गएको र उपचारका लागि चीनको बेइजिङ लगिएको दाबी फैलिएको थियो। केही पोस्टमा उनको मृत्यु भइसकेको र शव गोप्य रूपमा उत्तर कोरिया फर्काइएको दाबीसमेत गरिएको थियो।

यी दाबी अमेरिकामा बस्दै आएका चिनियाँ असन्तुष्ट वान्जुन झीको सामाजिक सञ्जाल पोस्टबाट फैलिएको बताइएको छ। तर, उनले दाबी पुष्टि गर्ने कुनै प्रमाण दिएका छैनन्।

बेलायतको ‘द सन’, अमेरिकाको ‘न्युयोर्क पोस्ट’ र भारतको ‘इकोनोमिक टाइम्स’ लगायतका सञ्चारमाध्यमले पनि यी हल्लाबारे समाचार प्रकाशित गरेका थिए।

दक्षिण कोरियाका कूटनीतिक तथा सुरक्षा अधिकारीहरूले किमको मृत्यु भएको दाबीलाई समर्थन गर्ने कुनै जानकारी प्राप्त नभएको बताएका छन्। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले पनि मृत्युको हल्लाबारे प्रत्यक्ष प्रतिक्रिया दिएको छैन।

किमको मृत्यु भएको भन्ने दाबी पुष्टि गर्ने विश्वसनीय प्रमाण सार्वजनिक भएको छैन। सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरले उनको सार्वजनिक गतिविधिबारे जानकारी दिए पनि ती तस्बिरको मिति स्वतन्त्र रूपमा पुष्टि गरिएको छैन। एजेन्सी