गुगल क्लाउडको प्राविधिक समस्याका कारण मंगलबार युरोपका विभिन्न डिजिटल सेवा प्रभावित भएका छन्।

गुगलको लन्डनस्थित डाटा सेन्टरमा समस्या देखिएपछि रिभोलुटसहित बैंकिङ र डेलिभरी सेवामा अवरोध आएको हो।

कम्पनीका अनुसार लन्डनस्थित ‘युरोप-वेस्ट२’ क्षेत्रमा स्थानीय समयअनुसार मंगलबार बिहानदेखि क्लाउडका धेरै सेवामा समस्या देखिएको थियो। कम्पनीको इन्जिनियरिङ टोलीले नेटवर्कमा देखिएको त्रुटिको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको जनाएको छ।

यसबाट प्रभावितमध्ये डिजिटल बैंक रिभोलुट पनि एक हो। रिभोलुटका ग्राहकले कार्डबाट भुक्तानी गर्न, रकम स्थानान्तरण गर्न र खातामा पहुँच पाउन समस्या भोगेका थिए। रोयटर्ससँग कुरा गरेका एक स्रोतका अनुसार रिभोलुटको सेवा अवरुद्ध हुनु गुगल क्लाउडको समस्यासँग सम्बन्धित थियो।

रिभोलुटले सामाजिक सञ्जाल एक्समार्फत आफ्ना धेरै सेवामा अवरोध आएको स्वीकार गर्दै ग्राहकको पैसा र व्यक्तिगत विवरण सुरक्षित रहेको जनाएको छ। कम्पनीले समस्या समाधानका लागि काम भइरहेको बताउँदै ग्राहकसँग असुविधाप्रति क्षमा मागेको छ।

बैंकिङ सेवासँगै डेलिभरी कम्पनी डीपीडी र रोयल मेलका ग्राहकले पनि समस्या रिपोर्ट गरेका थिए। बेलायतको ह्यालिफ्याक्स बैंकले आफ्नो एप र वेबसाइट प्रयोग गर्दा केही ग्राहकलाई कठिनाइ भएको जनाएको छ। लयड्स बैंकले पनि केही अनलाइन सेवामा समस्या देखिएको बताएको छ। यस्तै, जर्मनीको आईएनजी बैंकका ग्राहकले अनलाइन बैंकिङ र मोबाइल एपमा लगइन गर्न समस्या भोगेका थिए।

सेवा अवरुद्ध हुँदा केही ग्राहकलाई पसलमा सामान किन्दा भुक्तानी गर्न र अनलाइन अर्डर पठाउनसमेत कठिनाइ भएको थियो।

गुगलले समस्या समाधानका लागि अनुसन्धान जारी रहेको जनाएको छ। तर, सबै प्रभावित सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किएको वा नफर्किएकोबारे स्पष्ट जानकारी दिइएको छैन।