रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच युक्रेन युद्धबारे छलफल गर्न त्रिपक्षीय बैठक हुन सक्ने विषयमा चर्चा भएको छ।

तर बैठक गर्ने औपचारिक सहमति भइसकेको छैन र छलफलको कार्यसूची पनि तय भएको छैन। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार पत्रकारहरूसँग कुरा गर्दै तीनै नेता चीनमा हुने एसिया-प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनमा सहभागी हुन सक्ने भएकाले सम्भावित बैठकको विषय उठेको बताएका हुन्।

‘तीनै जना राष्ट्रप्रमुखले चीनमा हुने शिखर सम्मेलनमा भाग लिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै त्यस्तो काल्पनिक बैठकको विषय वास्तवमै उठाइएको थियो,’ उनले भने।

पेस्कोभका अनुसार बैठक गर्ने विषयमा कुनै ठोस प्रस्ताव वा सम्झौता भएको छैन। बैठकको सम्भावित कार्यसूची र छलफलका विषयसमेत तय नभएको उनले स्पष्ट पारे।

सो अवसरमा उनले अन्तिम शान्ति सम्झौताका लागि युक्रेनको सहभागिता आवश्यक हुने बताए। पेस्कोभका अनुसार युक्रेनको सहभागिताबिना युद्ध अन्त्य गर्ने अन्तिम सम्झौता सम्भव छैन। त्यसैले तीन नेताबिच बैठकको सम्भावनाबारे चर्चा भए पनि त्यसबाट युद्ध अन्त्य गर्ने सम्झौता हुने निष्कर्षमा पुग्न अहिले नै सकिँदैन।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि तीन नेताबिच सम्भावित बैठकबारे छलफल भइरहेको बताएका छन्। तर बैठक गर्ने सहमति भइसकेको छ वा छैन भन्नेबारे आफूलाई जानकारी नभएको उनले बताए।

अमेरिकी सञ्चारमाध्यमका अनुसार पुटिनले ट्रम्प र सीसँग युक्रेन युद्धबारे छलफल गर्न अर्को महिना बैठक बस्ने प्रस्ताव अघि सारेका छन्। प्रस्तावित बैठकमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहभागी हुने छैनन्। युक्रेनको सहभागिताबिना युद्ध अन्त्य गर्ने विषयमा छलफल हुन सक्ने सम्भावनाले युक्रेन र उसका सहयोगीहरूमा चिन्ता बढाएको छ।

युक्रेनका विदेशमन्त्री आन्द्रेई सिबिहाले रूस, अमेरिका र चीनका नेताबिच मात्र हुने बैठकले युद्ध अन्त्य गर्न सघाउनुको सट्टा पुटिनलाई युद्ध जारी राख्न प्रोत्साहन गर्न सक्ने बताए। उनका अनुसार युद्ध अन्त्य गर्न युक्रेन, अमेरिका र रूसका नेताबिच त्रिपक्षीय बैठक हुनु बढी उपयोगी हुनेछ।

एपीईसीको सन् २०२६ को नेताहरूको शिखर सम्मेलन नोभेम्बर १८ र १९ मा चीनको सेन्जेनमा हुँदैछ। यही सम्मेलनका क्रममा पुटिन, ट्रम्प र सीबिच त्रिपक्षीय बैठक हुन सक्ने सम्भावनाबारे चर्चा भएको हो। तर तीनै नेता सहभागी हुने वा छुट्टै बैठक बस्ने विषयमा औपचारिक निर्णय भइसकेको छैन। एजेन्सीको सहयोगमा