दसैँ–तिहार लक्षित व्यापार प्रभावित हुन थालेपछि नेपाल–चीनको तातोपानी नाका नियमित सञ्चालन गर्न माग गरिएको छ। कात्तिक १ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा आएको नाका तीन दिन मात्रै खुल्ने व्यवस्थाले चीनबाट आयात हुने सामग्री भित्र्याउन कठिन भएको व्यवसायीले बताएका छन्।
नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार चीनको सिचाङस्थित न्यालम क्षेत्रमा चाडपर्व लक्षित सामान बोकेका ४५ भन्दा बढी कन्टेनर रोकिएका छन्। नाका सीमित समय मात्रै सञ्चालन हुँदा ती सामग्री नेपाल भित्र्याउन नसकिएको उनले बताए।
“चाडपर्व लक्षित सामान बोकेका ४५ भन्दा बढी कन्टेनर सीमापारि रोकिएका छन्। तीन दिन मात्रै सञ्चालनमा आएको नाकाबाट ती सबै सामान ल्याउन सम्भव छैन। त्यसैले नाका नियमित सञ्चालन गर्न आवश्यक छ,” पराजुलीले भने।
उनका अनुसार रोकिएका कन्टेनरमा नाशवान् वस्तु, कृषिजन्य उत्पादन तथा मौसमी व्यापारका सामग्रीसमेत छन्। लामो समयसम्म ढुवानी हुन नसके ती सामग्री बिग्रने र व्यवसायीले आर्थिक क्षति बेहोर्नुपर्ने जोखिम छ।
संघले नाका नियमित सञ्चालनको माग गर्दै चीन सरकार र नेपालस्थित चिनियाँ दूतावासलाई ध्यानाकर्षणपत्र बुझाइसकेको छ। अन्य नाका सञ्चालनमा नरहेको अवस्थामा तातोपानी नाका पूर्ण रूपमा सञ्चालन गर्न सके दुई देशबीचको व्यापार सहज हुने संघको भनाइ छ।
कार्गो ट्रकलाई मात्रै अनुमति
तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नरेन्द्रसिंह चैसिरका अनुसार आइतबार नाकाबाट तीनवटा मालवाहक कन्टेनर नेपाल भित्रिएका थिए। सोमबार साँझसम्म सातवटा कन्टेनर मात्रै आएका छन्।
चीनतर्फबाट कार्गो ट्रकलाई मात्रै प्रवेश अनुमति दिइएकाले साना कन्टेनर आउन नसकेको चैसिरले बताए। नाकाबाट भित्रिएका सामग्रीमा फलफूल, जुत्ता, तयारी पोसाक तथा कृषिजन्य वस्तु छन्।
चाडपर्वको समयमा बजारमा वस्तुको माग बढ्ने भए पनि सीमामा ढुवानी रोकिँदा व्यापार प्रभावित हुने चिन्ता व्यवसायीमा छ। समयमै सामान नेपाल भित्र्याउन नसके बजारमा आपूर्ति प्रभावित हुनुका साथै आयातकर्ताले अतिरिक्त खर्च र नोक्सानीसमेत बेहोर्नुपर्ने अवस्था आउन सक्छ।
तातोपानी नाका नियमित सञ्चालनको मागसँगै सीमापारि रोकिएका कन्टेनरलाई प्राथमिकताका आधारमा नेपाल भित्र्याउने व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ। नाका सञ्चालनको अवधि बढाउन सके चाडपर्व लक्षित सामग्रीको आपूर्ति सहज हुनुका साथै नेपाल–चीन व्यापारमा परेको अवरोध कम गर्न सहयोग पुग्नेछ।

प्रतिक्रिया