दशैंमा परिवार र आफन्तसँगको भेटघाट, मासुका विभिन्न परिकार र मिठामिठा खानेकुराको स्वादले चाडपर्वको रौनक बढाउँछ। तर लामो समय भोकै बस्ने, एकैपटक धेरै खाने र चिल्लो, पिरो तथा मसालेदार परिकारमा रमाउने बानीले यही खुसीयालीबीच पेटसम्बन्धी समस्या पनि निम्त्याउन सक्छ। दशैंमा धेरैले सामना गर्ने यस्तै समस्यामध्ये ग्यास्ट्रिक प्रमुख हो।
नेपालमा ग्यास्ट्रिकलाई सामान्य समस्याका रूपमा लिने गरिए पनि यसको कारण र प्रकृति सबैमा एउटै हुँदैन। कसैलाई अमिलो पानी आउने, डकार लाग्ने र पेट पोल्ने समस्या हुन्छ भने कसैलाई खाना नरुच्ने वा पेट दुख्ने समस्या देखिन्छ। यस्ता लक्षणलाई सामान्य अपच ठानेर बेवास्ता गर्नु वा चिकित्सकको सल्लाहबिना औषधि खानु जोखिमपूर्ण हुन सक्छ।
वरिष्ठ पेट तथा कलेजोरोग विशेषज्ञ प्रा. डा. ऋषिकान्त अर्यालका अनुसार ग्यास्ट्रिक भन्नाले पेट तथा पाचन प्रणालीमा देखिने विभिन्न समस्या बुझिन्छन्। गलत खानपान, अनियमित दिनचर्या, पर्याप्त निद्रा नलिने, मानसिक तनाव तथा केही औषधिको जथाभावी सेवन यसका कारण हुन सक्छन्। धेरै चिल्लो, अमिलो, पिरो र भुटेका–तारेका खानेकुरा तथा बजारमा पाइने जङ्क फुडको अत्यधिक सेवनले पनि पेटको समस्या बढाउन सक्छ।
तर सादा खाना खाने र नियमित जीवनशैली अपनाउने व्यक्तिलाई पनि ग्यास्ट्रिक हुन सक्छ। डा. अर्यालका अनुसार यसको एउटा कारण ‘एचपाइलोरी’ नामक ब्याक्टेरियाको सङ्क्रमण हो। दूषित खाना वा पानीबाट शरीरमा प्रवेश गर्ने यो ब्याक्टेरिया पेटको भित्री तहमा रहेर समस्या निम्त्याउन सक्छ। नेपालका अस्पतालमा भएका अनुसन्धानले करिब ५० प्रतिशत मानिसमा यसको सङ्क्रमण देखिएको उनको भनाइ छ। यस्तो अवस्थामा खानपान सुधारेर मात्र समस्या समाधान नहुन सक्छ, उचित परीक्षण र उपचार आवश्यक पर्छ।
दशैंमा ग्यास्ट्रिकबाट बच्न सबैभन्दा पहिले खाने समय र मात्रा मिलाउनुपर्छ। चाडपर्वका परिकारको स्वाद लिने भन्दै लामो समय भोकै बस्ने र एकैपटक धेरै खाने बानीले पाचन प्रणालीमा अनावश्यक दबाब पार्छ। त्यसैले नियमित समयमा खाना खाने, आफ्नो शरीरले पचाउन सक्ने मात्रामा खाने र सन्तुलित भोजनलाई प्राथमिकता दिने गर्नुपर्छ।
दशैंमा खसीको मासु, बोसोयुक्त मासु, पक्कु तथा तेलमा तारेका परिकार बढी खाइन्छन्। यस्ता परिकारको अत्यधिक सेवनले ग्यास्ट्रिकको समस्या भएका व्यक्तिलाई असहज बनाउन सक्छ। डा. अर्याल मासु खाँदै नखानेभन्दा पनि यसको प्रकार, पकाउने तरिका र मात्रा छनोट गर्न सुझाव दिन्छन्। बोसोयुक्त मासुको सट्टा बोसो कम भएको मासु, माछा तथा तरकारी र रेसायुक्त खानेकुरालाई प्राथमिकता दिनु उपयुक्त हुन्छ।
विशेषगरी अङ्गारमा पोलेर बनाइने सेकुवामा सावधानी अपनाउनुपर्ने उनको सुझाव छ। त्यस्तै, कोल्ड ड्रिंक्स, इनर्जी ड्रिंक्स, सोडायुक्त पेय पदार्थ तथा जङ्क फुडको सेवन कम गर्नुपर्छ। चाडपर्वमा स्वादका लागि खाइने यस्ता परिकारले पेटमा असहजता बढाउन सक्ने भएकाले तिनको मात्रा नियन्त्रण गर्नु महत्त्वपूर्ण हुन्छ।
बिहान उठ्नेबित्तिकै खाली पेटमा कडा चिया वा क्याफिनयुक्त पेय पदार्थ पिउने बानीले पनि पहिलेदेखि ग्यास्ट्रिक भएका व्यक्तिमा लक्षण बढाउन सक्छ। दूध हालेको चिया आफैँमा ग्यास्ट्रिकको मुख्य कारण नभए पनि खाली पेटमा कडा चिया पिउँदा पेटमा जलन हुन सक्ने डा. अर्याल बताउँछन्। त्यसैले बिहान मनतातो पानी पिउने र चिया पिउँदा हलुका खाजासँग खाने बानी उपयोगी हुन सक्छ।
खानपानसँगै दैनिक जीवनशैलीमा ध्यान दिनु पनि उत्तिकै आवश्यक छ। निश्चित समयमा खाना खाने, पर्याप्त निद्रा लिने, मानसिक तनाव कम गर्ने र खाना खाएलगत्तै ओछ्यानमा पल्टिने बानी त्याग्नुपर्छ। खाना खाएपछि केही समय ठाडो भएर बस्ने वा हल्का हिँडडुल गर्ने बानीले पाचनमा सहजता ल्याउन सक्छ। पानी पर्याप्त पिउनुपर्छ, तर खाना खाँदा पानी पिउँदैमा पाचन रस अनिवार्य रूपमा पातलो भएर पाचन बिग्रन्छ भन्ने मान्यता सही होइन। आफ्नो तिर्खा र शरीरको आवश्यकताअनुसार पानी पिउनु उचित हुन्छ।
ग्यास्ट्रिकको समस्या हुँदा आफैँले औषधि किनेर खाने प्रवृत्तिप्रति पनि सचेत हुनुपर्ने डा. अर्यालको सुझाव छ। विशेषगरी दुखाइ कम गर्ने औषधि जथाभावी सेवन गर्दा पेटमा थप समस्या उत्पन्न हुन सक्छ। ग्यास्ट्रिकजस्ता देखिने लक्षण सामान्य अपचदेखि अल्सर वा अन्य गम्भीर रोगसँग पनि सम्बन्धित हुन सक्ने भएकाले समस्या बारम्बार दोहोरिएमा चिकित्सकको सल्लाह लिनुपर्छ। आवश्यकताअनुसार इन्डोस्कोपी, रगत वा दिसाको परीक्षणबाट वास्तविक कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ।
दशैंको रमाइलो खानपानमै सीमित हुँदैन, परिवारसँगको खुसी र स्वस्थ समय पनि यसको महत्त्वपूर्ण पक्ष हो। त्यसैले चाडपर्व भन्दैमा खानपानमा अनुशासन बिर्सनु हुँदैन। परिकारको स्वाद लिने तर मात्रा मिलाउने, बोसो र चिल्लो कम गर्ने, तरकारी तथा रेसायुक्त खाना समावेश गर्ने र नियमित दिनचर्या कायम राख्ने हो भने दशैंको स्वादसँगै पेटको स्वास्थ्य पनि जोगाउन सकिन्छ।

प्रतिक्रिया