अमेरिकी अर्बपति एलोन मस्कले अर्को वर्ष अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो कम्पनी स्पेसएक्सको एक-एक सेयर दिने घोषणा गरेका छन्।
उनले सोमबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस्तो बताएका हुन्। ‘अर्को वर्ष म अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्सको एउटा सेयर दिनेछु। यो सुरुवात मात्रै हुनेछ,’ मस्कले लेखेका छन्।
करिब दुई ट्रिलियन अमेरिकी डलर बजार मूल्य भएको स्पेसएक्सले गत जुनमा सेयर बजारमा कारोबार सुरु गरेको थियो। शुक्रबार बजार बन्द हुँदा कम्पनीको एक सेयरको मूल्य करिब १४६ डलर थियो। तर, मस्कले सेयर वितरण कसरी गर्ने भन्नेबारे विस्तृत योजना सार्वजनिक गरेका छैनन्।
सीएनएनका अनुसार अमेरिकामा १८ वर्षमुनिका करिब सात करोड ३० लाख बालबालिका छन्। सबैलाई एक-एक सेयर दिइएमा हालको मूल्यअनुसार त्यसको कुल मूल्य करिब १० अर्ब ६६ करोड डलर पुग्नेछ। तर, सबै बालबालिका यस योजनामा समेटिनेछन् कि छैनन् भन्ने स्पष्ट भइसकेको छैन।
बालबालिकालाई लगानीको अवसर दिने अभ्यास भने नयाँ होइन। अमेरिकी सरकारले ‘ट्रम्प अकाउन्ट्स’ नामक बचत तथा लगानी योजनामार्फत योग्य बालबालिकालाई एक हजार डलरको प्रारम्भिक सरकारी योगदान उपलब्ध गराउने व्यवस्था गरेको छ। सन् २०२५ को सुरुदेखि २०२८ को अन्त्यसम्म जन्मिएका योग्य बालबालिकाले यस योजनाअन्तर्गत सरकारी योगदान पाउनेछन्।
मस्कको घोषणा एआई कम्पनी एन्थ्रोपिकले आफ्नो सेयरको कम्तीमा पाँच प्रतिशत बराबरको हिस्सेदारी सार्वजनिक हितका काममा खर्च गर्ने कोषमा दिने घोषणा गरेको केही दिनपछि आएको हो। कम्पनीको पछिल्लो बजार मूल्यअनुसार उक्त हिस्सेदारीको मूल्य करिब ४८ अर्ब डलर हुन्छ।
एन्थ्रोपिकले उक्त कोषमार्फत गैरनाफामूलक संस्थालाई सहयोग गर्ने वा निश्चित समूहका मानिसलाई प्रत्यक्ष रकम उपलब्ध गराउन सक्ने जनाएको छ। एआईका कारण रोजगारीमा पर्न सक्ने नकारात्मक प्रभाव कम गर्न पनि यस्तो कोष उपयोगी हुन सक्ने कम्पनीको भनाइ छ।
मस्कले एन्थ्रोपिकको घोषणामा प्रतिक्रिया दिँदै सेयर जनतालाई सिधै बाँड्नुपर्ने बताएका थिए। त्यसपछि उनले आफ्नै कम्पनीको सेयर बालबालिकालाई दिने योजना सार्वजनिक गरेका हुन्। पछिल्लो समय एआई प्रविधिको सुरक्षा, यसले रोजगारीमा पार्न सक्ने प्रभाव तथा ठुला डाटा सेन्टर निर्माणबाट उत्पन्न हुने सामाजिक र वातावरणीय असरका विषयमा प्रविधि कम्पनीमाथि दबाब बढिरहेको छ।
मस्कको घोषणालाई सार्वजनिक हितका लागि गरिएको प्रयासका रूपमा हेरिन सक्छ। तर, सेयर वितरणको स्पष्ट कार्ययोजना सार्वजनिक नभएकाले यो घोषणा कसरी कार्यान्वयन हुन्छ र अमेरिकी बालबालिकाले वास्तवमै सेयर पाउँछन् कि पाउँदैनन् भन्ने अझै स्पष्ट छैन।

प्रतिक्रिया