बेलायतमा लामो समयसम्म लिंग उत्तेजित रहने र पीडा हुने समस्याका कारण अस्पतालमा उपचार गराउने पुरुषको संख्या एक दशकमा ५८ प्रतिशतले बढेको छ।

यससँगै भियाग्राजस्ता औषधिको प्रयोगबारे विज्ञले चेतावनी दिएका छन्। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को तथ्यांकअनुसार गत वर्ष यस्तो समस्याका कारण ५३० जना पुरुषले अस्पतालमा उपचार गराएका थिए। तीमध्ये ४४१ जनालाई आपत्कालीन उपचार आवश्यक परेको थियो। प्रभावितमध्ये ८० र ९० वर्ष उमेर समूहका पुरुषसमेत थिए।

प्रियापिज्म भनिने यो समस्या हुँदा लिंगमा रगत अड्किएर लामो समयसम्म उत्तेजना कायम रहन्छ। एनएचएसको तथ्यांकअनुसार यस्तो समस्याका घटना एक वर्षमा ११ प्रतिशतले बढेका छन्। एक दशकअघि अस्पतालमा उपचार गराउनेको संख्या ३३६ मात्र थियो।

यस समस्याको उपचारका लागि सुरुमा आइस प्याक र रक्तनली साँघुरो पार्ने औषधि प्रयोग गरिन्छ। तर, धेरै बिरामीको लिंगमा अड्किएको रगत सुईको सहायताले निकाल्नुपर्ने हुन्छ। केही अवस्थामा शल्यक्रियासमेत गर्नुपर्ने हुन सक्छ।

द सनमा प्रकाशित समाचारअनुसार विज्ञहरूले भियाग्राजस्ता औषधिको सहज उपलब्धता र प्रयोगलाई अस्पतालमा बिरामी बढ्नुको सम्भावित कारण मानेका छन्। तर, सबै घटनाको कारण भियाग्रा नै भएको पुष्टि भएको छैन।

युरोलोजिकल सर्जन गोर्डन मुइर भियाग्राजस्ता औषधिसँग कोकेन र एम्फेटामिनजस्ता पदार्थ मिसाएर प्रयोग गर्दा जोखिम अझ बढ्न सक्ने चेतावनी दिन्छन्।

उनका अनुसार यस्तो समस्या देखिने पुरुषमध्ये एक समूहमा उत्तेजना प्राप्त गर्न र कायम राख्न सुईबाट दिइने औषधि प्रयोग गर्ने वृद्ध पुरुष पर्छन्। औषधिको प्रभावमा समस्या आएमा उनीहरूमा लामो समयसम्म उत्तेजना कायम रहने अवस्था देखिन सक्छ।

उनले भने, ‘संख्यामा वृद्धि हुनुका पछाडि दुई फरक प्रकारका घटना हुन सक्छन्। पहिलो समूहमा उत्तेजना प्राप्त गर्न र कायम राख्न सुईबाट दिइने औषधि प्रयोग गर्ने वृद्ध पुरुष पर्छन्। केही गडबडी भएमा उनीहरूमा प्रियापिज्म हुन सक्छ र यसको छिटो उपचार गर्नुपर्छ।’

अर्को समूहमा लामो समयसम्म यौनसम्पर्क गर्ने उद्देश्यले विभिन्न कानुनी तथा गैरकानुनी औषधि र लागूपदार्थ प्रयोग गर्ने पुरुष पर्ने उनको भनाइ छ।

मुइरले थप भने, ‘केही पुरुष लगातार तीनदेखि चार घण्टासम्म यौनसम्पर्क गर्ने उद्देश्यले विभिन्न प्रकारका औषधि र लागूपदार्थ प्रयोग गर्छन्। भियाग्रा, कोकेन र एम्फेटामिनजस्ता पदार्थ मिसाएर प्रयोग गर्दा धेरै घण्टासम्म उत्तेजना कायम रहन सक्छ। यसले दीर्घकालीन स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्छ।’

लिंगको उत्तेजना चार घण्टा वा त्योभन्दा बढी समयसम्म कायम रहेमा तुरुन्तै आपत्कालीन उपचार लिनुपर्छ। यस्तो अवस्थामा उपचारमा ढिलाइ गर्दा स्थायी क्षति हुन सक्ने भएकाले लाज वा संकोच नमानी स्वास्थ्य संस्थामा जानु आवश्यक हुन्छ।