कञ्चनपुरमा प्रहरीले दिसा गराउने क्रममा एक व्यक्तिको दिसाबाट १०.४२ ग्राम खैरो हेरोइन बरामद गरेको छ। लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा पक्राउ परेका भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरीको दिसाबाट लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका अनुसार चौधरीलाई भीमदत्त नगरपालिका–९ स्थित जिरो प्वाइन्ट क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो। लागुऔषध ओसारपसार भइरहेको सूचना पाएपछि ब्रह्मदेवस्थित प्रहरी कार्यालय र महेन्द्रनगरस्थित लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले चौधरीलाई महाकाली प्रादेशिक अस्पतालमा राखेर निगरानी गरिरहेको थियो। आइतबार बिहान ६:३० बजे शौच गर्ने क्रममा उनको दिसामा कालो प्लास्टिकभित्र राखिएका चारवटा पुडियामा खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागुऔषधको शुद्ध तौल १०.४२ ग्राम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।