जेष्ठ ७, काठमाडौं- अमेरिकाको प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया शुक्रवार तीनदिने नेपाल भ्रमणमा आएकी छिन् । तीनदिने भारत भ्रमण पुरा गर्दै बुधबार हिमाञ्चल प्रदेशको धर्मशाला पुगेर निर्वासित तिब्बती धर्मगुरु दलाई लामालाई भेटेपछि उनी शुक्रबार नेपाल आएकी हुन् । 

नयाँ दिल्लीबाट एयर इन्डियाको विमान हुँदै  अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेकी उनलाई शिष्टाचार महापाल तथा अमेरिकी राजदूत र्‍याण्डि डब्लु बेरिले स्वागत गरेका थिए । 

परराष्ट्र मन्त्रालयले भने जिया नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाउने क्रममा नेपाल आएको बताएको भएता पनि उनको यस पटकको तीनदिने नेपाल भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । 

जियाले शुक्रबारदेखि नै राजनीतिक भेटघाटलाई तीब्रता दिएकी छिन् । यसैक्रममा शनिबार अमेरिकी राजदूतावासमा नेपालमा रहेका प्राय पश्चिमा देशका राजदूतहरुलाई पनि भेटेको खबर प्राप्त भएको छ ।   

जिया र भ्रमण दलका सदस्यसहित अमेरिकी राजदूतावासमा आज बिहान  भएको पश्चिमा राष्ट्रहरुको भेटघाटमा बेलायती राजदूत निकोला पोलिट, फ्रान्सका राजदूत गिल्स बोर्बाओ, फिनल्याण्डका राजदूत पेर्ती आन्तिनेन, अस्ट्रेलियाका राजदूत फेलिसिटी वोल्क, दक्षिणी कोरियाका राजदूत पार्क चोङ–सुक, नेपालस्थित यु.एन. प्रमुख, स्विजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलर र नर्भेजियन राजदूतबीच  भेटघाट भएको खबर प्राप्त भएको छ ।

भ्रमणका क्रममा अमेरिकी उपमन्त्री जियाले शनिबार बिहान जाउलाखेल स्थित तिब्बती शरणार्थी शिविर भ्रमण गरेकी हुन्। उपमन्त्री जियाले शिविरको भौतिक एवं अन्य सुविधाका  विषयाबारे जानकारी लिएकी छिन्। उपमन्त्री जियाले शिविरमा रहेका शरणार्थीहरुको स्वस्थ्य,शिक्षा लगायतका विषयको समेत अभिरुचीपूर्वक जानकारी लिएको त्यहाँ रहेका एक तिब्बतीले बताए।

झन्डै ३ घन्टा शिविरमा बिताएकी उपमन्त्री जियाले शिविरमा बस्ने तिब्बती शरणार्थीसँग केहीबेर अन्तरक्रिया समेत गरेकी थिइन्। तिब्बती समुदायका अगुवाहरुले शरणार्थी परिचयपत्र नहुँदा कतिपय तिब्बती शरणार्थीहरु मानव अधिकारका आधारभूत कुराहरुबाट समेत वञ्चित हुनु परेको उपमन्त्री जियालाई सुनाएका थिए । शनिबार नै जियाले बौद्धनाथ स्तुपाको पनि अबलोकन गरेकी थिइन ।

जियाको नेपाल भ्रमणलाई नै चासोकासाथ हेरिएका बेला आज अमेरिकी राजदूतावासमा भएको राजदूतहरुको भेटघाटलाई झन् चासोकासाथ हेरिएको छ । अमेरिकी सिनेटर रोबर्ट मेनेन्डेजले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र नै लेखेर चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समयमा चीनसँग सुपुर्दगी सन्धि गरेको खण्डमा त्यसले नेपालको साख र प्रतिष्ठामा नकारात्मक असर पर्ने भन्दै नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धमा नै आँच आउने भनेर घुमाउरो पाराले धम्की दिएका थिए । 

ती सिनेटरले पत्रमा ओली सरकारले विगतका सरकारले झै निर्वासित जीवन बिताइरहेका तिब्बती तथा शरणार्थीहरूलाई बसोबास तथा सुरक्षाको प्रबन्ध गर्ने प्रतिवद्धताको तारिफ गर्दै तिब्बतीहरूको मुद्दामा अमेरिकाको ठूलो चासो रहेको उल्लेख गरेका थिए । 

जिया भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ राजदूत होउ यान्छीले बुधबार गृहमन्त्री बालकृष्ण खाणलाई भेटेकी थिइन् । जिया नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि आएकी छन् । भ्रमण टोलीले आइतबार नेपालबाट बिदा लिनेछ ।